
काठमाण्डौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार ढलेको छ । सरकार ढलेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन सकेनन् ।
एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा ६३ मत मात्रै पाए । उनको विपक्षमा १९४ मत पर्यो । र, मत दिन्न भन्नेमा १ मत रह्यो । बैठकमा २५८ जना सांसदको उपस्थित थियो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले मागेको विश्वासको मत अस्वीकृत भएको घोषणा गरे।
Advertisement

Advertisement
Advertisement

प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र एकीकृत समाजवादीका १० जना सांसदले मात्रै विश्वासको मत दिए । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले उनको विपक्षमा मतदान गरे। प्रचण्डले १८ महिनाको अवधिमा आज पाँचौ पटक विश्वासको मत लिएका हुन्।

