


काठमाडौं, ८ साउन । नेपाल विद्युत प्राधिकरणद्धारा लाइन काटिएको उद्योगमा पुनः लाइन जोड्ने भएको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन विद्युत उपयोग गरेबापत रकम बक्यौता रहेको केही उद्योगहरुको लाईन काटेको थियो । रिलायन्स स्पीनीङ, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको लाइन काटिएको थियो। यी उद्योगहरुमा मंगलबार साँझबाट लाइन जोडिने भएको छ ।
प्राधिकरण सञ्चालक समिति बैठकको निर्णयका सम्बन्धमा कार्यकारी निर्देशक कुलमान घिसिङले माइन्युट उठाएका थिए। प्राधिकरण सञ्चालक समिति सचिव समेत रहेका घिसिङले बक्यौता रहेका उद्योगीहरूलाई तीन महिनाभित्र महसुल तिर्नुपर्ने म्याद पनि दिएका छन्।

उक्त माइन्युटमा लेखिएको छ, ‘तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगीहरूको विद्युत् लाइन जोडिने छ।’

