


भैरहवा, १३ साउन । लुम्बिनी प्रदेशमा सरकारका लागि मन्त्री चयन विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ‘विवाद’ देखिएको छ । जसकारण हालसम्म पनि पार्टीले मन्त्रीको टुंगो लगाउन सकेको छैन । साना दललाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयको भागबन्डा समेत रोकेर राखेका छन् । सोहीकारण प्रदेशमा काँग्रेस र एमालेका चार/चार जना मन्त्री नियुक्त भएपनि उनीहरुलाई विना विभागीयकै रुपमा राखिएको छ ।
लोसपा लगायत साना दलले मन्त्रीको टुंगो नलगाउँदा मन्त्रालयको भागबन्डा र मन्त्रिपरिषद्ले पूर्णता नपाएको प्रदेशका राजनीतिक क्याम्पहरुमा चर्चा छ । मुख्यमन्त्री आचार्यले साना दलका लागि सरकारमा मन्त्रीको तीन सिट खाली राखेका छन् । सरकारलाई लोसपा, अशोक राई नेतृत्वको जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको ‘समर्थन’ छ । तर, यी चार दलबाट तीन दलले मन्त्री पाउने हालसम्मको अवस्थाले देखाएको छ । जसमध्ये ‘किचन क्याबिनेट’मा लोसपा सहभगाी हुने लगभग तय छ ।

तर, कसको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने भन्ने समाचार तयार पार्दासम्म टुंगिएको छैन । प्रदेशमा लोसपाका रुपन्देही–३ (क) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, रुपन्देही–४ (क) बाट निर्वाचित कन्हैया कुमार बनियाँ, र समानुपातिकतर्फबाट हेमा बेल्वासे केसी गरी तीन सांसद छन् ।
दुई जना प्रत्यक्ष निर्वाचित मध्ये सन्तोषकुमार पाण्डेय यस अघि मन्त्री बनिसकेका छन् भने फेरी मन्त्री बन्नका लागि लबिङ गर्नमा व्यस्त छन् । उता निर्वाचित हुनुभन्दा अघि देखि नै जनताका बीचमा रहेर राजनीतिमा उदाएका कन्हैया बनियाँ यस पटक मन्त्रीको उचित ‘क्यान्डिडेन्ट’ रहेको मर्चवारवासीहरु बताउँछन् ।
तर, पार्टीको पश्चिम तराईका कमाण्डर रुपन्देही–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लले लुम्बिनी सरकारमा कसको नेतृत्वमा सहभागी हुने विषयमा हालसम्म पार्टीलाई कुनै निर्णय नदिएको लोसपा स्रोतले बताएको छ । मधेस बेसका राजनीतिक पार्टीहरुमा पूर्वी तराईका नेताहरु हावी हुदाँ पश्चिम तराईका नेताहरुलाई त्यती अवसर दिइदैन । जसकारण केपी ओली नेतृत्वको सरकारमा सर्वेन्द्रनाथलाई पठाउने छलफल भएतापनि पार्टीले अन्तिम अवस्थामा शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि सर्वेन्द्रनाथ पार्टीबाट रुष्ट छन् ।
पार्टी फुटको संघारमा पुगेको आशयका अभिव्यक्ति संचारमाध्यमहरुमा आएपछि शुक्लले ६ दिन अघि सामाजिक संजाल फेसबुकमा लेखेका छन्– ‘असार ३१ को निर्णयमा मेरो असहमती, मेरो असन्तुष्टि रह्यो तर पार्टी विभाजन हाम्रो कल्पना बाहिरको विषय हो । कुनै ठोस निर्णय त्यसपछि सबैको सर–सल्लाहबाट मात्र हुनेछ ।’
मन्त्री नबनाएर रुष्ट बनाइएका सर्वेन्द्रनाथलाई फकाउनका लागि ‘ललिपप’ को रुपमा लुम्बिनी सरकारमा मन्त्रीको टुंगो लगाउन पार्टीले अघोषित जिम्मेवारी दिएको बुझिएको छ । तर, सर्वेन्द्रले पनि पार्टीले फकाउनका लागि ‘ललिपप’ दिएको बुझेरै मन्त्रीको नाम पार्टीमा सिफारिस गरेका छैनन् । जसकारण लुम्बिनीको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।
प्रदेश सांसद पाण्डेय र बनियाँ दुवै पार्टी हेडक्वाटरमा पुगेर मन्त्रीका लागि अ–आफ्नो ‘च्यानल’ प्रयोग गरिरहेको बुझिएको छ । साथै, दुवै जनाले पार्टी अध्यक्ष महन्थ ठाकुरसगँ समेत भेटवार्ता गरेका छन् । तर, पार्टी अध्यक्ष महन्थ ठाकुरले रुष्ट रहेका शुक्ललाई थप क्रोधित नहुनदिन दुवै पक्षहरुसगँ मन्त्रीका लागि ‘शुक्लजी से मिलिए’ भन्ने जवाफ दिने गरेको बुझिएको छ ।
मन्त्रीको नाम सिफारिसमा हालसम्म मौन रहेका शुक्ललाई सन्तोषकुमार पाण्डेय मन्त्री भइसकेकोले यस पटक मर्चवारको विकासका लागि कन्हैया बनियाँलाई मन्त्री बनाउनुपर्ने उनी माथी उनकै निर्वाचन क्षेत्रबाट चर्को दवाव छ । पार्टीका शुभेच्छुक, कार्यकर्ता, मर्चवारवासीले चिया पसल देखि लिएर समाजिक संजाल मार्फतसम्म कन्हैयालाई मन्त्री बनाउनुपर्ने सुझाव दिइरहेकाले शुक्लमाथी नैतिक दवाव समेत परेको छ ।
लोसपाको लोकतान्त्रिक विद्यार्थी संघका लुम्बिनी प्रदेश अध्यक्ष मोहम्मद अलीले पार्टी नेतृत्वलाई आग्रह गर्दै समाजिक संजाल फेसबुकमा लेखेका छन्–‘…कन्हैया बनियाँलाई प्रदेशको मन्त्री बनाई प्रदेशवासीलाई सेवा गर्ने मौका प्रदान गर्न पार्टीलाई विनम्र अनुरोध गर्दछु ।’ उनी जस्तै पार्टीमा आवद्ध अन्य नेता, कार्याकर्ताले पनि पार्टी नेतृत्वमा रहेकाहरुलाई टेलिफोन, समाजिक संजाल मार्फत बनियाँलाई मन्त्री बनाउनुपर्ने भन्दै सुझावको लहर चलेको छ ।
रुपन्देही लोसपाका नेता एवं मर्चवारी गाउँपालिका–२ बाट निर्वाचित वडाअध्यक्ष शशीदयाल चौधरीले पनि लुम्बिनी प्रदेशमा तीन जना सांसद रहेकोमा अवसरमा नपाएको र प्रत्यक्ष निर्वाचित कन्हैया बनियाँको नेतृत्वमा पार्टीमा सरकारमा जानुपर्ने धारणा राखे । ‘हाम्रो क्षेत्रमा जो सुकैलाई जुन सुकै समस्या परोस् कन्हैया बनियाँ सधै अगाडी हुनुहुन्छ’ उनले भने, ‘जसका लागि हामी मर्चवारवासीले कन्हैयालाई सरकारमा पठाउन सुझाव दिइरहेका छौँ ।’
प्रदेसभा सदस्य बनियाँले निर्वाचित हुनुअघि वा पछि दुवै अवस्थामा नागरिकको उस्तै सेवामा तल्लिन छन् । उनले कुनै काम सरकारी स्तरबाट गर्न समस्या पर्ने वा समय लाग्ने देखिएमा व्यक्तिगत लगानीमै नागरिकका समस्या समाधान गर्दै आएका छन् । जसकारण उनी जनतामाझ निकै लोकप्रिय छन् । यस अघि पार्टी सरकार जाँदा कन्हैयालाई थम्थमाएर सन्तोषलाई मन्त्री बनाइएकोमा यस पटक मन्त्री मर्चवारबाट बाहिर जाने नदिने पक्षमा मर्चवासी देखिएका छन् ।
शुक्रवार मझगावा चोकको पूर्वतर्फको चिया पसलमा आठ जना समूहको बीच राजतीतिक चर्चा चल्दै गर्दा एक सर्वसाधरणले गफिदै भने– ‘यस पटक पनि चिफ सा’ब (सर्वेन्द्रनाथ शुक्ल) ले आफ्नै क्षेत्रको प्रदेश सांसद कन्हैयालाई छाडेर फेरी भैरहवाका सन्तोषतिर लम्किए ०८४ को निर्वाचनमा कन्हैयाले असहयोग गरे उनलाई राम्रै असर पर्न सक्छ ।’
र, यसै बीच प्रदेशसभा सदस्य कन्हैयाका स्वकीय सचिवको रुपमा परिचित विक्रम सिंह लोधले शनिवार सामाजिक संजाल फेसबुकमा स्ट्याट्स लेखेका छन्– ‘मर्चवारमा प्रदेशसभा सदस्य पदका लागि उप-चुनाव हुने सम्भावना प्रबल…!।’

