
भैरहवा, १८ साउन । भैरहवा भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको आंशकामा ठुलो परिमाणमा चिनी बरामद गरेको छ । साथै, चिनी लोड गरिएको एउटा ट्रक समेत नियन्त्रणमा लिएको जनाएको छ । शुक्रवार सिद्धार्थनगर नगरपालिका–४ बाट लु २ ख २८८२ नम्बरको ट्रकमा करिब ५ लाख मूल्य बराबरको १ सय ६२ बोरा चिनी लोड गरी लैजान लागेको अवस्थामा चिनी सहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।
एउटा बोरामा ५० किलो चिनी रहेकोले बरामद चिनी आठ हजार एक सय किलो छ । कार्यालयको टोली पुगे लग्त्तै ट्रक चालक साँचो सहित फरार भएको उनले बताए ।तस्करहरुले दैनिक थोरै परिमाणमा भन्सार छलेर भैरहवा बजारमा चिनी ल्याएर डम्प गर्ने र परिमाण धेरै भएपछि ट्रक मार्फत मुलुकको विभिन्न स्थानमा पठाउने गर्ने गर्दछन् । जस अनुसार कार्य गरिरहेको आशंकामा भन्सारले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको उक्त ट्रकमा महोत्तरी जिल्लाको एक सुगरमिलको नाम लिखित एक सय खाली बोरा, तौल मेसिन समेत बरामद भएको प्रमुख गौतमले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘भन्सार छलेर भित्राइएको चिनी ठुलो परिमाणमा अन्यत्र लगिदैछ भन्ने हामीलाई सूचना प्राप्त भएको थियो’ भन्सार प्रमुख गौतमले भने,‘जसअनुसार हामी सम्बन्धित स्थानमा पुग्दा भन्सार प्रज्ञापन पत्र/बिल बिजक केही नभएको अवस्थामा चिनी र ट्रक नियन्त्रणमा लिएका हौँ ।’ उनले ट्रक र चिनीको दावी गर्न आउने फर्म/व्यक्तिसगँ आवश्यक कागजत लिएर जाँचबुझ गर्ने र कानुन बमोजिम नपाइए कारवाही प्रक्रिया अगाडी बढाइने बताए । पछिल्लो समय भन्सार छली विरुद्ध भैरहवा भन्सार कार्यालय आक्रमक रुपमा उत्रिएको छ । कार्यालयले भन्सार छलेर ठूलो परिमाणमा भित्राइएको विभिन्न साम्रगीहरु धमाधम गाडीसहित नियन्त्रणमा लिएर कारवाही अभियान चलाएको छ ।

