


भैरहवा, २१ साउन । लुम्बिनी प्रेस क्लबले अग्रज पत्रकार चेतन पन्तको निधनप्रति दुःख व्यक्त गरेको छ । क्लबले विज्ञप्ती जारी गर्दै सदस्य पन्तको निधनले कुसल अभिभावकका साथै पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ ।
पत्रकार पन्तको निधनले आफुहरुलाई मर्माहित बनाएको उल्लेख गर्दै क्लबको अध्यक्ष सम्झना शर्माद्धारा जारी शोक विज्ञप्तीमा भनिएको छ, ‘उहाँको दुःखद निधनले क्लबले एक कुसल अभिभावक गुमाउनुका साथै लुम्बिनीको प्रवद्र्धन एवं यस क्षेत्रको पत्रकारितामा अपूरणीय क्षति भएको छ ।’

सोमबार पन्तको भैरहवा स्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । सोही क्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीले पन्तको पार्थिव शरीरमा महासंघको झण्डा (ब्यानर) ओढाएर र मालासहित श्रद्धाञ्जली अर्पण गरेको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखेरेलले पनि महासंघ, रुपन्देहीका पूर्व सल्लाहकार समेत रहेका पन्तको क्षतिले पत्रकारिता जगतमा अपूरणीय क्षति भएको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रेस क्लबका सल्लाहकार माधव ढुंगानाले पन्तको जीवनीबारे उल्लेख गर्दै उनको सकारात्मक र सहयोगी सोचले आफुहरुलाई हौसला प्रदान हुदै आएकोमा उनको निधनले आफुहरुलाई अपूरणीय क्षति भएको बताए । पन्तको निधनले पत्रकारिता जगतसँगै भैरहवा क्षेत्र शोकमग्न भएको छ । पत्रकार, उद्योगी व्यवसायी, नेता, सामाजिक अभियान्ता, विधार्थीलगायतले निधनप्रति दुःख व्यक्त गरेका छन् ।
दशकौ देखि पत्रकारिता क्षेत्रका साथै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा समेत पत्रकार पन्तले योगदान पुर्याउँदै आएका थिए । समाचार, लेखसँगै देश विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रवद्र्धका लागि अभियान नै चलाएका थिए । पत्रकारिताको माध्यमले भैरहवा, लुम्बिनी लगायत क्षेत्रको विकासका लागि लामो समय देखि कलम चलाउँदै आएका थिए । अर्बुद रोगबाट ग्रसित पन्तको आइतबार राति भैरहवास्थित निवासमा निधन भएको थियो ।
हेर्नुहोस् क्लबले जारी गरेको विज्ञप्तीः


