
भैरहवा, २३ साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमा सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालयसगँ भएको कार्यसम्पादन सम्झौता अनुसार देशभरका ७६ जिल्ला प्रशासन कार्यालयलाई उन्छिदै रुपन्देही पहिलो भएको हो ।
गत आर्थिक वर्ष २०८०/०८१ को साउन पहिलो हप्तामा गृह सचिव र प्रमुख जिल्ला अधिकारीहरुबीच भएको कार्यसम्पादन सम्झौता भएको थियो । जसअनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उक्त आर्थिक वर्षमा सेवा प्रवाहमा सहजता, जिल्लामा शान्ति-सुरक्षा कायम लगायत उत्कृष्ट कार्य गरेको थियो । कार्यसम्पादन सम्झौता अनुसार भएको मुल्याङनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरमा पहिलो बनेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक प्राप्त गरेको छ ।
Advertisement

Advertisement
Advertisement

९८ अंक प्राप्त गरी देशभरमा पहिलो हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल हुन् । उनले जिल्लाको नेतृत्व सम्हालेलग्त्तै केही व्यक्तिहरुले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जग्गाको लालपूर्जा तयार गरी मुआब्जा लिने थालेको प्रयासलाई विफल बनाएर सरकारको नाममा ल्याएर चर्चामा आएका थिए । त्यस्तै उनले जिल्लाको अन्य स्थानहरुमा पनि विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेको सार्वजनिक जग्गाहरुबाट अतिक्रमण हटाए ।
उनले जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबको जेलमा रहेका नेपाली नागरिकलाई हुन सक्ने मृत्युदण्ड सजाएबाट जोगाउनका लागि ब्लड मनी जुटाउनसम्म कार्य गरेर नागरिकको मन जित्दै जिल्लालाई पहिलो बनाउन सफल भएका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले नेतृत्व गरेको रुपन्देही जिल्लामा देशभरमै प्रथम भएपछि जिल्लावासीमा उत्साह छाएको छ ।
त्यस्तै ९७.५ अंक ल्याएर पाल्पा जिल्ला प्रशासन कार्यालय दोस्रो, ९७.६२५ अंक प्राप्त गरी बागलुङ जिल्ला प्रशासन कार्यालय तेस्रो आएको छ । यस्तै चौथोमा पश्चिम रुकुम ९७.५ अंक , पाँचौँ स्थानमा ९७.३७५ अंकसहित मकावनपुर र पर्वत, छैठौँमा गुल्मी ९७ अंक, सातौँमा तेह्रथुमले ९६.८७५, आठौँमा रोल्पाले ९६.७५, नवौँमा सोलुखुम्बु ९६.५६२५ अंक र ९६.४३७५ अंक ल्याएर १० औँ नम्बरभित्र जिल्ला प्रशासन कार्यालय डडेलधुरा पर्न सफल भएको छ ।

