


भैरहवा, २५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमी पर्व आज शुक्रवार परम्पराअनुसार देशभर मनाइँँदै छ । घरको मूल ढोकामा नागको पूजा गरी नागको चित्र टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्यजातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

