


भैरहवा, २७ साउन । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले ‘मर्चुरी फ्रिज’ (शवलाई सुरक्षित राख्ने फ्रिज) सेवा शुल्कको दर घटाएको छ । यस अघि एक हजार रुपैयाँ सेवा शुल्क लिदै आएको अस्पतालले दर घटाएर पाँच सय रुपैयाँ कायम गरेको हो ।
नागरिकको माग तथा स्थानीय सरोकारवालाहरुको सुझावअनुसार अस्पताल विकास समिति बैठकले सेवा शुल्कमा पाँच सय रुपैयाँ घटाएको अस्पतालको प्रमुख एवं मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले बताइन् । ‘हामीले सकेसम्म मर्चुरी फ्रिज सेवालाई निःशुल्क रुपमा उपलब्ध गराउने प्रयास गरेका हौं’, उनले भनिन्, ‘तर विद्युत, मर्मतसम्भार लगायत खर्चका कारण तथा अस्पताल विकास समितिलाई पनि भार नपर्ने गरी पाँच सय रुपैयाँ कायम गरेका हौँ ।’

उनले आर्थिक अवस्था निकै कमजोर भएका परिवारका लागि अवस्था अनुसार निःशुल्का सेवा सेवा समेत प्रदान गरिने जनाइन् । त्यस्तै अस्पतालमा स्वास्थ्य बीमा सेवा र ज्येष्ठ नागरिकको लागि फार्मेसी सेवाका निम्ति छुट्टै युनिट स्थापना गरिएको उनले बताइन् ।

