
काठमाडौं, २९ साउन । नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले राष्ट्रपति देखि लिएर दलका शिर्ष नेताहरुसम्मलाई भेटेर स्वदेश फर्किएका छन् । उनको भ्रमणलाई निकै महत्व दिइएको थियो । नेपालका परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा औपचारिक भ्रमणमा आएका उनले नेपालमा ३२ घण्टा बिताए ।
सो क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा र परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
Advertisement

Advertisement
Advertisement

भेटमा उनीहरुबीच विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरुबारे छलफल भएको बताइएको छ । विदेश सचिवको सम्मानमा समकक्षी परराष्ट्र सचिव लम्सालले आयोजना गरेको रात्रिभोजमा मिश्रीले मधेसकेन्द्रित दलका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि कुराकानी गरेका थिए ।
‘भारतमा नयाँ विदेश सचिव नियुक्त हुनु भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन छ सोही चलन अनुसार उहाँ नेपालको शिष्टाचार भ्रमणमा आउनु भएको हो’, परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने । उनले मिश्रीको राजनीतिक नभई परिचयात्मक भ्रमण रहेको बताए । जुलाईमा विदेश सचिव नियुक्त भएका उनी भुटानको भ्रमण सकेर नेपाल आएका थिए ।
भारतसँग केपी ओलीको सम्बन्ध राम्रो बन्न सकेको छैन । जसकारण पनि भारतले प्रधानमन्त्री ओली स्वागत गर्न आतुर छ । मिस्रीको भ्रमणपछि ओली भारत भ्रमणमा जाने सक्ने सम्भावना छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणा सन्देश पनि मिस्रीले प्रधानमन्त्री ओलीलाई दिएको बताइएको छ ।
दुवै देशहरूले मिस्रीको भ्रमणलाई काठमाण्डू र दिल्लीबीच भइरहेका नियमित उच्चस्तरीय भ्रमणहरूको सिलसिला भनेका छन्। यद्यपी नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेपछि भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

