
भैरहवा, १२ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुवँरले संगठनमा सुदृढिकरण कार्य अन्र्तगत प्रहरीका (बैंक) खाता देखि लिएर डिआईजीसम्मलाई कारवाही गर्न लागेको बताएका छन् ।
‘हामी डिआईजी सा’बसम्मलाई ‘क्रपसन’मा कारवाही गर्दैछौ । तपाई सबैले बुझ्नुपर्छ म–म नभन्नुस’, बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गरे पश्चात कार्यक्रममा कड्किदै उनले भने, ‘तपाई परिवारको (बैंक) खाता चेक गर्दैर्छौँ । तपाईहरुको खाता चेक गर्दैछौँ । तपाईको साथीसंगतीको खाता चेक गर्दैछौँ । अहिले एक जना डिआईजी सा’ब फस्दै हुनुहुन्छ । त्यसैले यी कुराहरु बुझ्नुस है बुझ्नुस । निर्मम हुनुपर्ने अवस्था छ ।’ कारवाही गर्न लागिएको डिआइजीको नाम भने उनले खुलाएनन् ।
Advertisement

Advertisement
Advertisement

उनले प्रहरीको आचरण सुधार गर्न निर्देशन दिए । ‘प्रहरीप्रति जुन किसिमको छवि छ । जुन किसिमको नकारात्मक किसिमको चित्रण छ । नागरिको मन मस्तिष्कमा त्यो हटाउन जरुरी छ’, उनले भने, ‘त्यो हटाउने भनेको हाम्रो आचारण, व्यवहारले हो । अहिले कुनै पनि कुरा छिप्ने अवस्था छैन ।’
घुमुवा प्रहरीतर्फ इंगित गर्दै उनले एउटै कार्यालयमा १०÷१५ वर्षसम्म मान्छे राख्ने प्रवृति गलत रहेको र नयाँ प्रहरीबाट काम गरे उक्त सेटिङ भत्किने बताए । ‘दश वर्षमा एउटै कार्यालयमा राख्न प्रवृति छ । यो र त्यो भनेर तपाई राख्नुहुन्छ । त्यो बिना काम गर्न सक्नुहुन्न । थाहा छैन के हो ?’ उनले प्रश्न गर्दै भने, ‘तपाई नयाँ फ्रेसमान्छे बाट काम गर्नुस त्यो सेटिङ भत्किन्छ ।’
लुम्बिनीमा देश विदेशबाट आउने पर्यटक समक्ष प्रस्तुत गर्ने व्यवहारको प्रचार विश्वभर हुने गरेकोले प्रहरीले जनमैत्री, सेवामैत्री व्यवहार र व्यवसायिकता प्रर्दशन गर्न उनले निर्देशन दिए । नागरिकले प्रहरीले राम्रो गरेको महसुस गराउनुपर्ने भन्दै व्यवसायिक स्वार्थ मात्र गन्तव्य भन्ने धारणाका साथ काम गर्न आग्रह गरे ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले सहकार्यले राम्रो काम गर्न सकिने बताए । उनले ट्राफिक प्रहरीबाट सहयोग पाउन नसकेको गुनासो गरे । क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई जरिवाना मात्र तिराएर सडकको अवस्था सुधार हुन नसक्ने उनको भनाई थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लामो समयदेखि जिल्ला प्रहरीको चुहिने, डुवानमा पर्ने र सांघुरो कार्यालय भवन रहेको उल्लेख गरे । ‘बल्ल प्रहरी फराकिलो परिसर सहितको कार्यालयमा आइपुगेको छ,’ उनले भने, ‘प्रहरीको मनोबल बढाउन पनि यस्ता पूर्वाधारको खाँचो थियो, अहिले पूरा भएको छ ।’ अब जनताको मन जित्नेगरि प्रहरीले काम गर्नुपर्नेमा उनले जोड दिए ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले नयाँ र सुविधा सम्पन्न संरचनाले प्रहरीलाई उच्च मनोबलसाथ काम गर्न सघाउने बताए । ‘लामो समयपछि नयाँ भवनबाट कार्य प्रारम्भ भएको छ,’ उनले भने, ‘अब सबै अधिकृतदेखि जवानले आम नागरिकलाई सहज सेवा पुर्याउने कुरामा ध्यान दिन जरुरी छ ।’ राम्रो भवनको प्रभाव प्रहरीको कार्य सम्पादनमा देखिनुपर्ने उनको भनाई थियो । उनका अनुसार मुलुकभरिका प्रदेश प्रहरीको कार्यसम्पादन मूल्यांकन तर्फ लुम्बिनी प्रदेश प्रथम र लुम्बिनी प्रदेश अन्तर्गत जिल्ला प्रहरीबीचको कार्य सम्पादन मूल्यांकनमा रुपन्देही प्रथम भएको जनाए ।
रुपन्देही प्रहरी उपरीक्षक रन्जितसिंह राठौंरले ५९ वर्षपछि रुपन्देही प्रहरीले सुरक्षा मापदण्डसहितको नयाँ भवन लगायत पूर्वाधार प्राप्त गरेको जनाए । ‘यसअवधिमा पुरानो र जिर्ण भवनबाट पनि बिचलित नभई सेवा प्रदान गरिरहर्यौं,’ उनले भने, ‘अब नयाँ जोससाथ कार्य सम्पादनमा ध्यान दिनेछौं ।’
सिद्धार्थनगर–१२, मा नेपाल प्रहरीको नियमित बजेट अन्तर्गत १४ करोड ९६ लाख १४ हजार ५ रुपैयाँ लगानीमा निर्माण पूरा भएको कार्यालय भवनसहितका पूर्वाधारको उद्घाटन गरिएको हो । नेपाल प्रहरी प्रदेश कार्यालयका इन्जिनियर डीएसपी रोशन सारुमगरका अनुसार नयाँ भवन निर्माणका लागि ०७६ माघ १७ गते निर्माण कम्पनीसित सम्झौंता भएर ०८१ साउन ३१ गते भवन लगायत संरचनाको निर्माण पूरा भएको थियो ।

सुविधासम्पन्न २२ कोठासहितको कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, जुनीयर प्रहरी अधिकृत, हवाल्दार र जवान ब्यारेक, सुविधा सम्पन्न मेस, स्नान गृह र शौचालय निर्माण भएका छन् ।

