


भैरहवा, १४ भदौ। रुपन्देहीको कोटिहवामा लिस्नु कप फुटबल प्रतियोगिताको २२ औं संस्करण आगामी भदौ २२ गते देखि संचालन हुने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित लिस्नु युवा क्लबको आयोजनामा संचालन हुने उक्त प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिमध्येमा पर्दछ ।
तिलोत्तमाको कोटिहवा स्थित पशुपति उच्च माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने प्रतियोगितामा १२ वटा टीमले प्रतिष्पर्धा गर्ने क्लबले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका कोषाअध्यक्ष प्रकाश पाण्डे क्षेत्री प्रतियोगिताको उपाधि विजेता टीमलाई ३ लाख २५ हजार रुपैयाँ नगद, शिल्ड र उपविजेता टीमलाई १ लाख ६५ हजार रुपैयाँ नगद र ट्रफी पुरस्कार रहेको बताए । हरेक विधाका उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ र प्रत्येक खेलमा म्यान अफ द म्याचबाट उत्कृष्ट खेलाडीलाई ४ हजार रुपैयाँ लगायत विधामा पुरस्कार दिइने उनले बताए ।

असोज ३ गते फाइनल खेलको तालिका रहेको प्रतियोगितामा आयोजक टिम लिस्नु युवा क्लबसहित नव युवा खेलकुद तथा साँस्कृतिक परिवार, संजीवनी युवा क्लब, गोर्खा व्वाईज बुटवल, झरना स्पोर्टस क्लब, फर्साटिकर फुटवल क्लब, कपिलवस्तु–११, देवदह ब्वायज क्लब, नवलपरासी ११, पाल्पा ११, वालिङ्ग ११ स्याङ्गजा, समपुर्ण युवा क्लब तिलोत्तमा सहभागी हुने क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष खेमराज गुरुङले लिस्नु कप फुटवल तिलोत्तमा मात्र नभइ रुपन्देहीको गहना भएको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता कोसेढुंगा सावित हुने दावी गरे ।क्वाटर फाइनलसम्म दर्शकका लागि एक सय रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेल हेर्न २ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । महिलालाई विशेष आकर्षित गर्न क्वाटर फाइनलसम्म निःशुल्क र सेमीफाइनलपछि ५० प्रतिशत छुट गरिएको कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
क्लबका अध्यक्ष तीर्थराज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका उपाध्यक्ष कृष्ण गुरुङ, कोषाध्यक्ष प्रकाश पाण्डे क्षेत्री, सचिव मनोज कुमार क्षेत्रीलगायतले प्रतियोगिताबारे जानकारी दिएका थिए ।स्थानीय स्वर्गीय कमलराज पाठकको स्मृतिमा प्रतियोगिता संचालन गर्न लागिएको छ । यस पटकको प्रतियोगिता सम्पन्न गर्न २३ लाख बढी रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

