
भैरहवा, १४ भदौ। संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्धको जन्मस्थल लुम्बिनी नै गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल चल्ने आधार रहेको बताएका छन् । विमानस्थल संचालनका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा उनी मन्त्री भएपछि पहिलो पटक विमानस्थलको शुक्रवार निरीक्षण गरेका छन् ।
निरीक्षणपछि सञ्चारकर्मीसगँ बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अघि बढेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुट सहित हवाई कम्पनीहरुलाई आर्कषित गराउन खोजिएको बताए । उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै यसैलाई अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले भिसा, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै शुरू गर्ने निर्णय गरेको बताए । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियिमत उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भईरहेको बताए । निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकि नराख्न उनले निर्देशन दिए ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूहरुकातर्फबट भैरहवा विमानस्थलबाट उडानका लागि बौद्ध राष्ट्रहरुसँग पहल गरिरहेको बताए । उनले श्रीलंका, भियतनाम, चिन लगायतका मुलुकका उच्च पदस्थ अधिकारीहरुसँग बुद्धजन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकरात्मक जवाफ आएको बताए ।
मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्धजन्मस्थल आएको अनुभूती दिने गरी सौन्दर्यकरण गर्न सुझाव दिए । उक्त अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले विमानस्थल नेपालको पुर्वमा चितवनदेखि सुदुरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए ।
उनका अनुसार सन् २०२२मा ३१ हजार यात्रुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुल, मे महिनासम्म ९२३ जनाले मात्रै उडान भरेका छन् । निरीक्षणमा सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खाँ, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा खत्री, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुको उपस्थिति थियो । मन्त्री पाण्डे सहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए ।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा निजि क्षेत्रको अर्बौं लगानी जोखिममा परेको छ ।लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डे बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन । शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा कोषको परिषद बैठक बस्नेछ ।

