
बुटवल, १५ भदौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारीहरुलाई सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । शनिवार अस्पतालको स्तरोन्नतीका लागि १२ तले भवनको शिलान्यास पश्चात अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल गर्दै उनले बुटवललाई आर्थिक राजधानी बनाउने विषयसँग अस्पताल जोडिएकोले सबैजना एक भएर लाग्नु पर्नेमा जोड दिए ।
अस्पतालको स्तरोन्नती पश्चात यस क्षेत्र स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने भन्दै उनले सरकारको तर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत गरे । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभई दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको व्यवस्थापन पनि महत्वपूण रहेको उल्लेख गरे ।
Advertisement

Advertisement
Advertisement

छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालमा गुनासो रहित सेवा जनताको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिए । शल्यक्रिया सेवा तथा अन्य सेवाका लागि महिनौं कुर्नुुपर्ने विषयमा बजारमा आएका टिप्पणीहरु बारे उल्लेख गर्दै उनले सुधारका लागि प्रदेश सकारले आवश्यक सहयोग गर्न तयार रहेको र अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले निर्माणाधिन भवनमा अस्पताल परिवारलाई अपनत्व दिलाउन नसकेको गुनासो गरे । निर्माणकार्यमा हुने कमजोरी तथा ढिला सुस्तीका विषयमा विकास समिति, अस्पताल प्रशासनतर्फ नै प्रश्न उठ्ने उल्लेख गर्दै यसको कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गरे ।
अस्पतालको सेवाका विषयमा बजारमा आएका टिप्पणीबारे बोल्दै अध्यक्ष श्रेष्ठले सीमित जनशक्ति र श्रोतसाधानले ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपरेकोले समस्या समाधान गर्नका लागि प्रदेश सरकारले प्रयाप्त लगानी र जनशक्ति व्यवस्थापन गर्नुपर्ने माग गरे । अस्पतालमा नेतृत्वका विषयमा हुने राजनीतिक द्धन्द्धका कारण सेवाग्राहीले समस्या भोग्नु परेको भन्दै यसको दिर्घकालिन समाधान गर्न पनि आग्रह गरे ।
अस्पतालमा हाल उपलब्ध जनशक्ति, उपकरण तथा सेवाग्राहीको चापबारे जानकारी गराउँदै डा. वर्षा थापाले प्रस्तुती दिएकी थिइन् । सीमित श्रोत साधन र जनशक्तिबाट पनि सकेसम्म कम भन्दा कम गुनासो आउनेगरी आफूहरुले काम गरिरहेको भन्दै उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गरिन् ।
अस्पतालका मेसु डा. इन्द्र ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढिएको जानकारी दिए । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थपको योजना समेत रहेको उनले जनाए ।

