

चितवन,२० कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नभएको बताएका छन्।
शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनमा पार्टी बाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सक्रिय रहने बताए। साथै उनले कार्यकर्ताहरुलाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिए।
Advertisement

Advertisement
Advertisement
‘हामीले चुनावमा भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हौँ । तर यसको अर्थ जोसुकैलाई मनलाग्दी रूपमा पक्राउ गर्ने होइन । हामी विधिको शासन, कानूनी राज्य र निष्पक्ष अनुसन्धानमार्फत सुशासन कायम गर्न आएका हौँ । जनतामा आशा र भ्रष्टाचारीमा त्रास सिर्जना हुनुपर्छ, तर नागरिकमा त्रास फैलिनु हुँदैन’, उनले भने, ‘सरकारलाई नागरिकको सेवामा स्वतन्त्र र निर्वाध रुपमा काम गर्न दिनु पार्टीको जिम्मेवारी हो। न्यायालय, प्रहरी र प्रशासनजस्ता संस्थाको मनोबल कमजोर पार्ने अभिव्यक्ति दिनु हुँदैन । ती संस्थाभित्रका बेथिति विधिसम्मत ढङ्गले अन्त्य गर्नुपर्छ। सरकारका निर्णयप्रति प्रश्न उठाउन सकिन्छ, तर त्यसलाई अनावश्यक विवाद, षड्यन्त्र वा पार्टीभित्रको द्वन्द्वका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन।
सभापति लामिछानेले पार्टी र सरकार दुवैले नागरिकको सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
उनले न्यायालय र प्रहरीजस्ता राज्यका निकायमाथि सार्वजनिक स्थलमा बसेर गरिने अप्रमाणिक टिप्पणीले ती संस्थाको मनोबल कमजोर पार्न सक्ने भन्दै सचेत रहन आग्रह गरे। पार्टीभित्र बढ्दो ‘रिसोर्सेज’ वा धनशक्तिको प्रभावप्रति उनले चिन्ता व्यक्त गरे।
आफ्नो अभिव्यक्तिलाई बंग्याएर सञ्चारमाध्यम वा विपक्षीले विभिन्न अर्थ लगाउन सक्ने उल्लेख गर्दै लामिछानेले आफू लोकतान्त्रिक विधि र पार्टीका मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।
उनले रास्वपाले छिट्टै देशव्यापी रुपमा ‘निलो क्रान्ति’ विस्तार गर्ने दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासित भएर अभियानमा जुट्न आह्वानसमेत गरे।





