


अर्घाखाँची, २० भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय विद्यालय तथा क्याम्पस तहको शैक्षिक गुणस्तर खस्कदै जानु चिन्ताको विषय भएको बताएका छन् । शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले खस्कदै गएको शैक्षिक गुणस्तर सुधारका लागि योजना बनाएर अघि बढ्नुपर्ने निर्देशन दिए ।
‘भौतिक संरचना सुधार हुन्छन, बन्दै जान्छन् । तर, शैक्षिक गुणस्तर खस्कियो भने सुधार गर्न गाह्रो हुन्छ । देशलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न शिक्षा जोडिएको छ । यो महत्वपूर्ण बिषय हो’उनले भने,‘पढाईको गुणस्तर सुधार गरेको खण्डमा मात्रै सबै समस्याहरु समाधान हुदै जान्छन् ।’

लुम्बिनी प्रदेश सरकारले क्याम्पसको भवन निर्माणको लागी आर्थिक बर्ष २०७६/०७७ मा ५० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट क्याम्सको भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सोही भवनमा तला थप्न र कक्षा कोठा निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगबाट समेत ४६ लाख ७१ हजार बजेट प्राप्त भएको थियो । अहिले क्याम्पसमा पठनपाठनको लागी कक्षा कोठाको अभाव केही टरेको भएपनि बाँकी पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए।
प्रदेश सरकारले क्याम्पसलाई आवश्यक पर्ने पूर्वाधारहरुमा लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नु भएको छ । आवश्यकता सँगै थप नयाँ संकायहरु थप गर्दै विद्यार्थीको आकर्षण बढाउनेबारे स्थानीय सरकारले भूमिका खेल्ने शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताए ।

