


भैरहवा, २३ भदौ। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार देखि अवकासमा गएसँगै अशोकराज सिग्देलले प्रधानसेनापतिको रुपमा नेपाली सेनाको कमान्ड सम्हाल्ने भएका छन् । ४१ वर्ष सैनिक सेवामा बिताएका शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन्।
गत साउन २४ गतेदेखि उनी बिदामा बसेका छन् । अवकाश जानुअघि एक महिना अघि विदामा बस्ने प्रचल्न छ । भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलबाट दर्ज्यानी चिन्ह प्राप्त गरेर सिग्देलले भोलि (सोमबार) देखि प्रधानसेनापतिको कमान्ड सम्हाल्ने छन्। नेपाली सेनाको ४५ औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व गर्न लागेका छन् ।

सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
अठ्तीस वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । उनले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।
कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उनले काम गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने सिग्देल संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रुपमा परिचय बनाएका छन् । उनले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्र्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन्। सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुन्। संगठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएबापत उनले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाएका छन् ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पुर्याइसकेका छन् भने हाल विभिन्न ११ मिसनमा पाँच हजार नौ सय १६ सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

