
भैरहवा, २४ भदौ। नेपाली सेनाको प्रधानसेनापतिको रुपमा भैरहवाका अशोकराज सिग्देलले कमान्ड सम्हालेका छन् ।
४१ वर्ष सैनिक सेवामा बिताएका निर्वतमान प्रधानसेनापति प्रभुराज शर्मा तीनवर्षे पदावधि पुरा भएर अनिवार्य अवकाशमा गएपछि सिग्देलले नेपाली सेनाको कमान्ड सम्हालेका हन् ।
Advertisement

Advertisement
Advertisement

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
साथै, राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए । नेपाली सेनाको ४५ औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व गरेका छन् ।

निर्वतमान प्रधानसेनापति शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए । अवकाश जानु एक महिनाअघि विदामा बस्ने प्रचल्न छ । भदौ २४ गतेदेखि लागु हुने गरि राष्ट्रपति पौडेलले भदौ १२ गते सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए।
जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा माथी आएका थिए । सिग्देलको जन्ममितिमा पनि विवाद आएपछि जंगीअड्डाको आन्तरिक छानबिन गरेर कैफियत नरहेको बताएको थियो ।
को हुन सिग्देल ?
भैरहवा स्थायी घर भएका सिग्देल ३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका थिए। सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
अठ्तीस वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । उनले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।
कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उनले काम गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने सिग्देल संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रुपमा परिचय बनाएका छन् । उनले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन्। सैनिक जीवनको उत्कृष्ट सेवाको कदर स्वरुप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुन्। संगठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याए बापत उनले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाएका छन् ।

