
भैरहवा, २६ भदौ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचारत दुई जना विपन्न विरामीहरुलाई अस्पताल प्रशासन, व्यवसायी र अस्पतालमा कार्यरत चिक्तिसकले ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
अस्पतालमा उपचारत रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका मुटु रोग सम्बन्धीका विरामी र कपिलवस्तु लबनीका मृगौला सम्बन्धीका विरामीहरुलाई बुधवार आर्थिक सहयोग गरिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अस्पतालका शेयर सदस्य एवं बुटवलका पेट्रोलियम व्यवसायी मदनलाल गुप्ताले अस्पतालमा उपचारत विपन्नवर्गका विरामीहरुलाई सहयोग गर्ने उद्देश्यले आमा पुनादेवी तेली र स्वर्गीय श्रीमती गितादेवी गुप्ता नामबाट दश लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । स्थापित सोही अक्षयकोषको सहायताले मुटु रोग सम्बन्धीका विरामी मजनु अन्सारीलाई २० हजार रुपैयाँ र मृगौला सम्बन्धीका विरामी धव्र विश्वकर्मालाई दश हजार रुपैयाँ सहयोग प्रदान गरेको व्यवसायी गुप्ताले बताए ।
श्रीमतीको साविक लुम्बिनी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएपश्चात अस्पतालमा उपचारत विपन्न वर्गका विरामीहरुलाई सहयोग गर्नुपर्ने इच्छा जागृत भएपछि आफुले डेढ वर्षअघि अक्षयकोष स्थापना गरेर विपन्न विरामीहरुलाई सहयोग गर्दै आएको बताए ।
‘हामी व्यवसायीले व्यवसाय गरेर थोरधेर पैसा कमाएका हुन्छौँ’,उनले भने,‘सोही कमाईको रकममध्येबाट थोरै भएपनि सहयोग गर्नुपर्छ भन्ने मानवताको ध्येयले अक्षयकोषको स्थापना गरेर सहयोग गरिरहेको छु ।’
साथै, अस्पताल प्रशासनले पनि दुवै जना विरामीहरुलाई ३० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ भने अस्पतालका चिक्तिसक एवं मुटु रोग विशेषज्ञ सुधिर शाहले पनि मुटु रोगका विरामी अन्सारीलाई व्यक्तिगत दश हजार रुपैयाँ सहयोग गरेको सिद्धार्थनगर सिटी अस्पताल प्रालिका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

उपचारत दुवै जना विरामी अति विपन्नवर्गको रहेकोले उपचार गराउन पनि उनीहरुलाई समस्या परेको अस्पताल प्रशासनलाई जानकारी भएपछि सहयोग प्रदान गर्न भुमिका निर्वाह गर्नुका साथै आफुहरुले पनि सहयोग गरेको उनको भनाई छ ।
‘अस्पतालमा उपचार सेवा लिइरहेको विरामीबारे हामी जानकारी लिइरहेका हुन्छौँ’, उनले भने,‘त्यसैक्रममा यी दुई जना विरामीहरु आफ्नो उपचार गराउन समेत हम्मेहम्मे परेको थाहा पाइएपछि उनीहरुलाई थोरै पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।’
पछिल्लो समय सिद्धार्थनगर सिटी अस्पतालले सेवा विस्तार गर्दै स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको छ । अस्पतालले थाईल्याण्डको संस्थासगँ समन्वय गरेर यस क्षेत्रका साथै विभिन्न जिल्लाका विरामीहरुको निःशुल्क घुँडा प्रत्यारोपण समेत शिविर चलाएर सेवा प्रदान गरेको थियो । जसमा ३२ जना विरामीहरुले सेवा लिएका थिए । साथै, अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य जाँच शिविर समेत संचालन गरी सेवाप्रवाह गर्दै आएको छ ।

