


भैरहवा,२७भदौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको विदाईको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह गरेको छ ।
सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्से-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्याएकाले बाहिर देखिने गरी खादा, माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुहरुले विमानस्थल क्षेत्रमा माला/खादा छाड्ने गर्दा सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको बताएको छ ।
सूचनामा भनिएको छ, ‘हवाई यात्रु महानुभावहरुले यस त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाधी ल्याइने खादा आदि सुरक्षा जाचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरुलाइ गम्भीर क्षति पुर्याइ रहेको साथै यात्रुहरुले खादार मालाहरु विमानस्थलका बिभिन्न क्षेत्रहरुमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको हुँदा विमानस्थल टर्मिनल भवन प्रवेशका दौरान सुरक्षा जाँचका समयावधि भर यस्ता माला,खादा आदि वस्तुहरु प्रयोग नगरीदिन हुन र यात्रु महानुभावले सँगै लानु पर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरि राखेर मात्र लगिदिन हुन यात्रु तथा सम्पूर्ण महानुभावहरुमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय हार्दिक अपिल गर्दछ ।’
केहिदिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जान लागेका एक यात्रुले लगाएको खादा खोल्न भन्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
हेर्नुहोस् जारी गरिएको सूचनाः


