
भैरहवा,३०भदौ। भैरहवामा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जश्ने विलादत (मोहम्मद जयन्ती) को अवसरमा रक्तदान र फलफुल वितरण कार्यक्रम गरिएको छ ।
भैरहवाको अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटी र मदरसा अरयिबा अशरफिया फैजुल इस्लामको संयुक्त आयोजनामा मोहम्मद जयन्तीको अवसरमा रक्तदान र फलफुल वितरणको कार्यक्रम गरिएको हो।
Advertisement

Advertisement
Advertisement

आयोजकले शनिवार मदरसामा रक्तदान कार्यक्रम गरेको हो भने आइतबार विरामीहरुलाई फलफुल वितरण गरेको हो । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटीका अध्यक्ष मोहम्मद फिरोजले बताए । साथै, भीम अस्पतालमा उपचारत रहेका विरामीहरुलाई पनि फलफुल वितरण गरिएको उनले बताए ।
‘मोहम्मद जयन्ती हामी सबैको लागि खुशीको दिन हो’, उनले भने, ‘रगत अभाव रहेको जानकारी भएपछि हामीले रक्तदान कार्यक्रम गरेका हौँ र अस्वस्थ्य भएर अस्पतालमा उपचारत रहेका विरामीहरुलाई आवश्यक फलफुल वितरण गरेका हौँ ।’
जयन्तीको पूर्वसन्ध्यामा रक्तदान र फलफुल वितरण कार्यक्रम गरिएको र सोमबार (भोली) पनि विभिन्न कार्यक्रम गरेर १४९९ औँ जश्ने विलादत (मोहम्मद जयन्ती) मनाइने मदरसा अरयिबा अशरफिया फैजुल इस्लाम व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अकिलले बताए ।
हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा आमा आमिनाको कोखबाट भएको बताइन्छ । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइ दिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मदरसा अरयिबा अशरफिया फैजुल इस्लामका प्रधानध्यापक मौलाना फैजुल्लाह मुसलमानले बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले मोहम्मद जयन्तीको अवसरमा नगरमा सामाजिक कार्य गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले जयन्तीको खुशीयाली मनाउनुका साथै सामाजिक कार्यमा लागिरहन आग्रह गरे।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ, सिद्धार्थनगर नगरपालिका-६ का वडाअध्यक्ष विरेन्द्र श्रीवास्तव, मौलाना फैजुल्लाह मुसलमान, मोहम्मद फिरोज, मोहम्मद अकिल, सलिम शेष, बसिर अहमद, नवाब मुसलमान,अजिम दर्जी लगायतको उपस्थिती रहेको थियो ।

