
काठमाडौं,१ असोज। नेपालमा नौलो प्रविधिको विकास गरिएको छ। हाल नेपालको बजारमा पेट्रोल, डिजेल र ग्याँसबाट बढी गाडी संचालनमा छन् । पछिल्लो समय ब्याट्रीबाट चल्ने गाडीको माग पनि बजार बढेको छ। यी इन्धनहरुबाट गाडी चलिरहेपनि नेपालमा अब ‘डुअल मोडल’ अर्थात पेट्रोल र हाइड्रोेजन दुबै इन्धनबाट चल्ने इन्जिनको विकास गरिएको छ।
काठमाडौं थापागाउँस्थित रिन्यु जेन रिसोर्सेस नेपालले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र बेलायतको एक विश्वविद्यालयसँग सहकार्य गरी पेट्रोल र हाइड्रोेजन दुबै इन्धनबाट चल्ने कारको इन्जिन विकास गरेको हो । उक्त प्रविधिलाई ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ नाम दिइएको छ ।
Advertisement

Advertisement
Advertisement

‘डुअल मोडल’ इन्जिन विकसित मुलुकहरुमा सफल परिक्षण भएर व्यापारिक प्रयोजनमा समेत गइरहेको छ। तर, तर नेपालमा हालसम्म यस्तो प्रविधिको विकास नभएकाले यसलाई नौलो मानिएको छ ।
सोमबार ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’जडान गरिएको कारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा शुभारम्भ गरे । रिन्यु जेन रिसोर्सेसका हाइड्रोजन विज्ञ डा. प्रकाश थापाकोे नेतृत्वमा उक्त कारको इन्जिन बनाइएको हो।

विकास गरिएको प्रविधी वातावरणमैत्री भएको हाइड्रोजन विज्ञ डा. थापाको दावी छ। ‘हामीले पेट्रोल र हाइड्रोेजन दुवैबाट चल्ने कारको इन्जिन विकास गरेका छौँ’उनले भने, ‘तत्कालीन अवस्थामा हाइड्रोजन इन्धनको रिफ्युलिङ स्टेसन उपलब्ध नभएको खण्डमा कार चलाउँदाचलाउँदै हाइड्रोजन इन्धन सकिएपनि समस्या झल्नुपरेन। त्यस अवस्थामा सहजै पेट्रोलबाट इन्जिन चलाउन मिल्छ ।’
उनले विकास गरिएको उक्त प्रविधि दक्षिण एसियामै नौलो रहेको भन्दै यसले नेपालको लागि सम्भावनाको नयाँ द्धार खोलेको बताए। प्रविधिको थप विकास र विस्तार गर्न सके थोत्रा भएका गाडीहरुलाई पुनः प्रयोगमा समेत ल्याउन सकिने उनको भनाई छ।
रिन्यु जेन रेसोर्सेस नेपालका कार्यकारी अधिकृत डा. प्रमोद टण्डनले आफूहरुको प्रयास सफल भएसँगै गाडी धनीहरुलाई अब पेट्रोल र हाइड्रोजन दुवै प्रकारका ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प खुल्ला भएको बताए ।
इन्टरनेशनल हाइड्रो पोलिटिक्समा बेलायतबाट पीएचडी गरेका टण्डनले भने, ‘हाइड्रोजन कम्बसन इन्जिन नेपालमै विकास गर्ने सम्बन्धी समझदारी पत्रमा गत वर्ष ६ नोभेम्बरमा हस्ताक्षर भएको थियो, विभिन्न चरणहरु पार गर्दै हामी नेपालका लागि नौलो र वातावरणमैत्री हाइड्रोजन कम्बसन इन्जिनयुक्त कार परीक्षण गर्न सफल भएका छौं ।’ उनी भन्छन्, ‘चल्तीमा रहेको गाडीको इन्जिनमा सामान्य फेरबदल गरेर थोरै खर्चमा हाइड्रोजन कम्बसन इन्जिन बनाउन सकिने नै यो यसको ठुलो विशेषता हो ।
पहिलो चरणको यो प्रविधि सफल भएकाले अब दोस्रो चरणमा नेपालमै शतप्रतिशत हाइड्रोजन राखेर परीक्षण गरिने र त्यसपछि भारतमा समेत यो प्रविधि प्रदर्शन गर्ने लक्ष्य रहेको डा. टण्डनले बताए । हाइड्रोजन नभएको अवस्थामा शतप्रतिशत पेट्रोल राखेर चलाउन समेत सकिने भएकाले यस प्रविधिलाई तुरुन्त व्यापारिक प्रयोजनमा लैजान सकिने दाबी गरिएको छ ।
कति लाग्छ खर्च ?
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका सहायक प्राध्यापक लक्ष्मण मोत्राले उक्त प्रविधि आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो रहेकोले हाइड्रोजन कम्बसन इन्जिनको युगमा प्रवेश गर्नुपर्ने उनी बताउँछन् ।
हाइड्रोजन कम्बसन इन्जिन विकास प्रक्रियालाई नजिकबाट नियालिरहेका उनी भन्छन्, ‘अहिले चलनचल्तीमा आएको हाइड्रोजन फ्युल सेल मोडलभन्दा थोरै मात्र परिवर्तन गरेर डुअल मोडलमा हाइड्रोजनसँगै पेट्रोल–डिजल राखेर चलाउन सकिने भएको हुँदा आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ ।’

रिन्यु जेन रिसोर्सेस नेपालका प्रोजेक्ट म्यानेजर युवराज ढकालले थोरै खर्चमा मात्र नेपालमा पेट्रोलियम पदार्थबाट चलिरहेको सबैजसो गाडीमा हाइड्रोजन कम्बसन इन्जिन प्रयोग गर्न मिल्ने बताए। ‘पेट्रोल वा डिजेलबाट चल्ने एउटा कारलाई हाइड्रोजनबाट पनि चलाउन मिल्ने बनाउन थोरैमात्र खर्च लाग्ने हाम्रो निष्कर्ष छ’, ढकाल भने, ‘कति खर्चमा तयार हुन्छ भन्ने कुरा पछि खुल्दै जानेछ ।’
लागतको हिसाबले पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय बनाउन सकिने सम्भावना अत्यन्त न्यून रहेको अवस्थामा हाइड्रोजन कम्बसन इन्जिन नेपालका लागि निकै नै उपयोगीसिद्ध हुने उनले विश्वास व्यक्त गरे। जसका लागि आवश्यक पर्ने हाइड्रोजन उत्पादनलाई बढावा दिन पाइलट प्रोजेक्ट सञ्चालनको गृहकार्यसमेत भइरहेको उनी बताउँछन् ।
‘दुई सय किलोवाट हाइड्रोजन उत्पादनका लागि नेपालका हाइड्रोपावर कम्पनीका साथै विदेशी हाइड्रोजन कम्पनीसँग समझदारी समेत भइसकेको छ,’ उनले भने, ‘पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनको चरणमा छ ।’
कानुनी व्यवस्था गर्न मन्त्रालय तयार
गत ४ माघमा बसेको मन्त्रिपरिषद बैठकले ग्रिन हाइड्रोजन नीति स्वीकृत गरेको थियो । तर त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि निर्माण नहुदाँ यसको कार्यान्वयनमा भने अझै समस्याहरु छन् ।
ऐन नियमले नेपालका लागि नितान्त नयाँ हाइड्रोजन ऊर्जाको प्रयोगलाई समेटेको छैन। त्यसैले यसको प्रयोगसम्बन्धी एकीकृत मापदण्ड बनाउने र प्रचलित कानुनी व्यवस्थामा संशोधन गर्ने तयारी भइरहेको अधिकारीहरु बताउँछन् ।
पेट्रोल र हाइड्रोजन दुबै इन्धनबाट चल्ने कार शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताए । उनले प्रविधिको उपयोगले मुलुकको प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले प्राकृतिक रूपबाट हाइड्रोजन प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।

