
भैरहवा,१असोज। नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुका लागि सशस्त्र प्रहरी बल, नेपालको भर्नामा छुट्टै कोटा दिने तयारी गरिएको छ। जसका लागि सशस्त्र प्रहरीले बलको प्रस्तावित नयाँ ऐनको मस्यौदामा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दुई प्रतिशत कोटा दिने व्यवस्थाको प्रस्ताव गरेको छ।
सशस्त्र प्रहरीका अधिकारीहरुले सीमा क्षेत्रमा बसोबास गर्नेहरुका लागि ५ प्रतिशत कोटा छुट्टाउनु पर्ने लबिइङ गरेका थिए । तर, ऐनको प्रस्तावित मस्यौदामा २ प्रतिशत कोटाको व्यवस्था गर्ने उल्लेख भए अनुसार २ प्रतिशत कोटा प्रस्ताव गरिएको हो।
Advertisement

Advertisement
Advertisement

संविधान अनुसार आरक्षण दिइएको बाहेक खुलामध्येको दुई प्रतिशतमा सीमावर्ती क्षेत्रका वासिन्दालाई अवसर दिने तयारी गरिएको बताइएको छ।
सशस्त्र प्रहरीको नयाँ ऐन सम्बन्धी मस्यौदा गृह मन्त्रालयबाट स्वीकृत भएर अर्थ मन्त्रालय हुदै कानुन मन्त्रालयमा पुगेको छ । भारतले सीमा क्षेत्रका साथै रणनीतिक महत्व स्थानका बासिन्दाहरुलाई सुरक्षा निकायमा आवद्धताका लागि प्राथमिकता दिदैँ आएको छ।
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालका अनुसार, सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनमा सीमा क्षेत्रका बासिन्दा संगठनमा आवद्ध भएमा सीमाबाट हुने अपराध नियन्त्रणमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सीमा क्षेत्रको अनुगमनको क्रममा दयनीय आर्थिक अवस्थाका कारण सीमाक्षेत्रका बासिन्दा बाध्यताले तस्करी लगायत गतिविधीमा संग्लन देखिएको भन्दै यसले सीमाका नागरिकहरुका लागि रोजगारीको अवसर पनि सिर्जन हुने उनको भनाई छ।
सशस्त्र प्रहरीले अघि सारेको प्रस्ताव सकारात्मक भएको र यसले सीमा क्षेत्रका नागरिकहरुमा थप अपनत्व जगाउने सशस्त्र प्रहरीका पूर्वअधिकारीहरु बताउँछन् ।
‘सीमा क्षेत्रका बासिन्दाहरुलाई संगठनमा आवद्धताका लागि भर्नामा नै छुट्टै कोटाको व्यवस्था गर्नु निकै सकारात्मक विषय हो’,सशस्त्र प्रहरी बलका एक पूर्वअधिकारीले भने, यसले सीमाक्षेत्रका बासिन्दाहरुमा सशस्त्र प्रहरी बल प्रति अपनत्व त हुन्छ नै, अपराध नियन्त्रणमा समेत मद्दत पुग्छ।’

