


काठमाडौं,१असोज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने भएपनि प्रदेश संरचना हटाउन नसकिने बताएका छन् ।
मंगलबार कांग्रेसको कानुन विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘प्रदेश संरचना हट्ने कुरा छैन। हटाउने अवस्था पनि छैन। यसलाई कसरी उत्तरदायी बनाउने भन्ने छ । यसलाई बढी प्रभावकारी बनाउनुपर्छ।’

उनले संविधानमा सुधार हुने विषयहरू संशोधन हुने भन्दै संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने बताए।
संविधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै उनले भने ‘ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति भएको छ । संविधानमा सुधार हुने कुरामा संशोधन आवश्यक पनि छ । तर संविधान संशोधन प्रजातन्त्रको खिलाफ हुँदैन । साँच्चै भन्ने हो भने ओलीजीलाई मैले पहिलोपटक जेलमा भेटेको हुँ । हामी प्रजातन्त्रका लागि लड्दै आएका छौं । यसलाई मजबुत बनाउने र जनताप्रति जवाफदेही बनाउनुपर्ने आवश्यकता छ । हामी प्रजातन्त्रको खिलाफमा कुनै काम गर्दैनौं ।’
उनले राजनीतिबाट अहिले पनि कतिपय समाज टाढा रहेकाले समानुपातिक प्रणालीमा सुधार ल्याउन सकिने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीमा समस्या रहेको बताउँदै अझ बढी समावेशी बनाउन आवश्यक रहेको धारणा राखे।

