
दाङ, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेतीबारे प्रदेश सरकारले व्यवसायिक योजना बनाउन साथ दिने बताएका छन् । लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अर्गानिक टिमुर खेती हुँदै आएको छ । टिमुरको व्यवसायिक खेतीबाट किसानको जीवनस्तर सुधार गर्न सकिने मुख्यमन्त्री आचार्यको भनाइ छ ।
विदेशी दातृ निकाय तथा उद्यमीहरुसँग बिहीबार राप्ती उपत्यका देउखुरीमा भएको भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागि सम्बोधन गरिएको समेत जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘हाम्रा पहाडी भू–भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाइदा हुने गरी टिमुर उत्पादन गर्न प्रदेश सरकार सहयोग गर्न तयार छ’मुख्यमन्त्री आचार्यले भने,‘यूरोप, अमेरिकामा यसको व्यापार राम्रो रहेको हुँदा लुम्बिनीको टिमुरलाई विश्व बजारसम्म पुर्याउन सकिन्छ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा टिमुर खेती प्रवद्र्धन गर्न ७० लाख बजेट विनियोजन गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँ, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले लगायतसँग फ्रान्सका इक्वेडिसका प्रमुख पिरे अलेक्डेण्डरले भेट गरेका हुन् । भेटको क्रममा उनले नेपाली टिमुर विश्वकै नमुना मानिने भएकाले विश्व बजारमा खपत हुने आधार रहेको बताए । नेपाली टिमुरलाई पूर्ण विषादीमुक्त अवस्थामै बचाउनुपर्ने, जसले गर्दा अर्गानिक उत्पालनको रुपमा मुल्य समेत राम्रो पाउने उनले धारणा राखे ।
पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा टिमुरको उत्पादन राम्रो रहेको र यसबाट किसानले धेरै आम्दानी गर्न सक्ने आधार रहेको बताए । ‘लुम्बिनी प्रदेशले टिमुरबाट राम्रो गर्न सक्छ । यसको आधार छ’उनले भने,‘किसानले पाउने मूल्य कम छ । प्रदेश सरकारले किसानलाई समृद्ध बनाउने अभियानका रुपमा यो कार्यक्रम जोड्नुपर्छ ।’ भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले टिमुरबाट प्रदेशको समृद्धि र विकासको आधार निर्माण गर्न सकिने बताए ।
५० हजार हेक्टरमा टिमुर खेतीको सम्भावना
लुम्बिनी प्रदेशमा जेठ १८ गते टिमुर सम्मेलन भएको थियो । लुम्बिनी प्रदेशमा १० लाख हेक्टर वन क्षेत्र छ र जसमध्ये ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भावना रहेको प्रदेश सरकारले जनाएको छ । एक हेक्टर जमिनमा ४ सय विरुवा हुर्काउने सकिने, एउटा विरुवाबाट मात्रै तीन केजीसम्म टिमुर उत्पादन गर्न सकियो भने प्रतिवर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने आधार छ ।
प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५ सय देखी ८ सय रुपैयाँ किलोमा सहजै विक्री हुने गरेको छ र यसलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ । वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेका अनुसार आर्थिक वर्ष २०७८÷२०७९ मा २ लाख ९० हजार ५ सय १९ किलो टिमुर निर्यात भएको छ ।
रोल्पाको टिमुरमा विदेशी चासो
रोल्पा जिल्लाका विभिन्न स्थानमा टिमुरको व्यवसायीक खेती हुँदै आएको छ । विषादीरहित टिमुरलाई विश्व बजारमा पुर्याउँदा त्यहाँबाट राम्रो आम्दानी हुन सक्ने भएपछि सर्वेक्षण समेत सुरु भएको छ । माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा स्थानीयले टिमुर खेती गर्दै आएका छन् । यहाँ पाइने अर्गानिक टिमुरलाई विश्व बजारमा पुर्याउन सकिने बारेमा विदेशी कम्पनीहरुले चासो देखाएर अध्ययन, सर्वेक्षण थालेका हुन ।

