
भैरहवा,७असोज। नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दर्जाका अधिकृतहरुको सरुवाको गृहकार्य थालिएको छ ।एक वर्ष अवधि पुगेको र कार्यक्षमता कमजोर देखिएका एसपीहरुको सरुवाको गृहकार्य थालिएको हो।
कपिलवस्तु, दाङ, बाँके, कास्की, सुनसरी, सप्तरी, मकवानपुर, पूर्वीनवलपरासी लगायत जिल्लाका एसपीहरुको अवधि पुगिसकेको छ भने धनुषा, सर्लाही, बारा, सिरहा लगायत जिल्लाका एसपीहरुको कमाण्ड कन्ट्रोल प्रभावकारी र आर्थिक पारदर्शीता नदेखिएकोले उनीहरुको पनि सरुवा गर्न गृहकार्य थालिएको छ।
Advertisement

Advertisement
Advertisement

दस जिल्लाका लागि २५ भन्दा बढी एसपीको दौडधूप भइरहेको छ। एसपीहरु ढकेन्द्र खतिवडा, कोमल शाह, अर्जुन तिमल्सिना, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे आर्कषक जिल्लामा जानका लागि दौडधुपमा लागेको बुझिएको छ।
रुपन्देही, कपिलवस्तु, कास्की, सुनसरी, मकवानपुर लगायतका जिल्लाका लागि एसपीहरुबीच कडा प्रतिस्पर्धा छ । रुपन्देहीका लागि प्रधानमन्त्री केपीशर्मा ओलीका पीएसओ समेत रहेका एसपी सन्तोष तामाङ लागेका छन्। तामाङलाई रुपन्देहीमा ल्याउनका लागि रक्तचन्दनदेखि भेपसम्मको तस्करी गर्ने दिपेश नामक तस्करले पनि जोडबल लगाएको प्रहरी संगठनमा चर्चा छ।
संगठनमा एसपीका लागि पर्सापछिको रुपन्देही जिल्ला आर्कषक मानिन्छ । तामाङ यस अघिको सरुवामा पनि रुपन्देही आउनका लागि दौडधुप गरेका थिए। तर, एसपी रंजितसिंह राठौरको पल्ला भारी भएपछि उनले रुपन्देही पाउन सकेनन् । र, प्रधानमन्त्री ओलीको सुरक्षार्थ पीएसओमा खटिए। प्रधानमन्त्रीको पीएसओ भएकै कारण यस पटक आफुले रुपन्देही पाउनेमा उनी ढुक्क छन्।
सुनसरीका लागि हाल बजेट शाखामा कार्यरत ढकेन्द्र खतिवडाले कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडामार्फत् लबिङ गरिरहेका छन् । मकवानपुरको एसपीका लागि कर्मचारी प्रशासन शाखाका अर्जुन तिमल्सिनालाई पठाउने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको छ । तर, मकवापुरका सांसद तथा एमालेका प्रमु्ख सचेतक महेश बर्तौलाले अर्कैको नाम लिएको बुझिएको छ। मकवापुरमा जान कांग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाट कोमल शाहले पनि चाहना राख्दा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
कास्कीको एसपीमा जान सुवास बोहरा लागेका छन् । उनलाई कास्कीमा लैजान बिचौलिया नवीन बस्नेत बालुवाटारसम्म कनेक्सन मिलाइरहेको चर्चा छ। उनलाई यसअघि बाँकेको एसपी हुँदा कार्यक्षमता देखाउन नसकेको भन्दै वर्तमान आईजीपी बसन्तबहादुर कुँवरले नै तानेका थिए । त्यसो त कास्कीमा जान बोहराले राष्ट्रपति कार्यालयबाट पनि उत्तिकै भिटो लगाइरहेका छन् ।
कपिलवस्तुको एसपीमा राजन लिम्बुको नाम चर्चामा छ । उनी पनि यसअघि प्रधानमन्त्री ओलीको पीएसओ भइसकेका अधिकृत हुन् । पूर्वीनवलपरासीमा सरुवा हुने एसपीमा यादव ढकालको नाम छ ।
सिरहाका एसपी रमेश पण्डित, बाराका रविन्द्रबहादुर सिंह, धनुषाका भुवनेश्वर तिवारी, बाराका महेन्द्र खड्का, दाङका रामबहादुुर केसी, बाँकेका तुलबहादुर कार्कीले पनि क्षमता देखाउन नसकेको भन्दै आईजीपी कुँवर उनीहरुलाई कायम राख्ने पक्षमा नभएको स्रोत बताउँछ ।

