
भैरहवा,७ असोज। चाडपर्व लक्षित सुपथ मूल्य पसल रुपन्देहीको भैरहवामा पनि सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाले दसैं,तिहार, नेपाल सम्वत, छठ् पर्वको अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उपभोक्ता बाबुराम घिमिरेलाई चामल हस्तान्तरण गर्दै उक्त पसलको उद्घाटन गरे।
Advertisement

Advertisement
Advertisement

आयोजित समारोहलाई सम्बोधन गर्दै अधिकारी अर्यालले आर्थिक रुपमा विपन्न व्यक्तिहरुलाई लक्षित गरेर सूपथ मूल्य पसल सञ्चालन गरिएको बताए । उनले भने,‘लक्षित वर्गको पहिचान गरी ती वर्गसम्म पुग्नुपर्छ । यसको उद्देश्य अनुसार लक्षित वर्षसम्म पुगोस् । पाउनु पर्नेले नपाउने र नपाउनु पर्नेले पाउने नहोस् ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाकी प्रमुख चुनु बुढाथोकीले चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताइन् । उनले लक्षित वर्गसम्म यो सेवा पुर्याउने गरी अघि बढ्ने बताइन् ।
उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हाल कारागारमा मात्र चामल जाने गरेको छ । अन्य कार्यालयहरुमा पनि यहाँको गुणस्तरीय चामल जाने गरी पहल हुनुपर्छ ।’ उनले सहकारीमार्फत विभिन्न पालिका तथा आवश्यक स्थानमा सुपथ मूल्य पसल खोल्ने योजना रहेको र यसमा पालिकाहरुले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै कार्यालयका वरिष्ठ सहायक कर्मचारी कमान सिंह रानाले महान चाडपर्वको अवसरमा नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा असोज ७ गतेभित्र नेपालभरीका ४२ जिल्लाका ६१ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने कार्यक्रम अनुसार भैरहवामा सञ्चालन गरिएको बताए ।
उनका अनुसार सुपथ मूल्य पसलमा सावाँ चामल प्रतिकेजी ७० रुपैयाँ, मोटा चामल प्रतिकेजी ५८ रुपैयाँ, स्टीम जीरा प्रतिकेजी ८५ रुपैयाँ र सोना मन्सुली प्रतिकेजी ६० रुपैयाँ मा उपलब्ध रहेको छ। हाल कार्यालयमा ४ हजार क्वीन्टल चामल स्टक रहेको उनले जानकारी दिए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य भरत बहादुर के.सी.ले सुपथ मूल्य पसलको सदुपयोग गर्न उपभोक्तालाई आग्रह गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवा सिद्धार्थनगर–८ स्थित लुम्बिनी गेटकै छेउमा छ।

