
भैरहवा,७असोज। मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई मंगलबार जनही ८ वर्ष १ महिना कैद हुने सजाय निर्धारण गरेको हो।
विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । सोमबार उक्त फैसलामा सजाय निर्धारण गरेको हो ।
Advertisement

Advertisement
Advertisement

निर्माण र परामर्शदाता तीन कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनालाई अभियोगबाट सफाइ दिएको थियो । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका थिए ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको छ ।
आयोजनाको विभिन्न प्रकृति र चरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले मुद्दामा सुनुवाइपूर्वको ‘प्रिट्रायल’ सम्पन्न गरेर निरन्तर सुनुवाइ गरी फैसला सुनाएको थियो ।
अदालतका अनुसार पूर्वसचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ जरिवाना, सूर्यराज कँडेललाई ८ वर्ष १ महिना कैद र १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ जरिवाना, रामचन्द्र देवकोटालाई ८ वर्ष १ महिना कैद र दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना र शिवकुमार शर्मालाई ८ वर्ष कैद हुनुपर्ने ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद छुट तथा दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना सजाय निर्धारण गरिएको छ ।

