


काठमाडौं,८असोज। काठमाडौं प्रहरीले झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धादिङ नेत्रावती गाउँपालिका-१ का ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ का ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे का ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ का ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेको प्रहरीले जनाएको छ।।

जुवा सम्बन्धी कसूरमा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्ने क्रममा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाएको खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुप सहित ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरीले जनाएको छ ।

