


काठमाडौँ,९असोज। नेपालीहरुको महान पर्व दसैं नजिकिदैँ सँगै सर्वसाधरणमा खुशीयाली छ। सर्वसाधरणहरु पर्वको तयारी जुटिसकेका छन् । बजारमा किनमेल भइरहेको छ। तर, यही बीचमा हर्षोउल्लासका साथ मनाइने पर्वलाई छाडेर बाध्यताबस झिन्टीगुन्टा बोकेर वैदेशिक रोजगारीका लागि खाडीमा विदेसिनु परेको छ।
वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि भदौ महिनामा मात्रै ५७ हजार ४९३ जना नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा ३९ हजार ५५७ पहिलो पटक र १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेसिएका छन् ।

जसमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना गएका छन् । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ।
भदौ महिनामा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५, कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागको तथ्याङ्क छ ।
मलेसिया जाने श्रमिकमा भने व्यापक गिरावट आएको छ । कुनै समय प्रमुख श्रम गन्तव्य मुलुक रहेको मलेसियामा भदौ महिनामा भने एक हजार १९५ श्रमिक गएका छन् । मलेसियाले गत मार्चमा आप्रवासी कटौती गर्ने निर्णय गरेसँगै रोजगारीमा जानेको संख्यामा गिरावट आएको हो ।

