
भैरहवा, १०असोज। भैरहवा भन्सार कार्यालयले किर्ते प्रज्ञापन पत्र बनाएर गाडी चलाउने व्यक्तिसहित संग्लन आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा गाडी चालक चितवन रत्नगर नगरपालिका–३ घर भई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ का ४१ वर्षीय सुरेश साह कलवार, संग्लन सोही स्थानका ४१ वर्षीय ललन ठाकुर र सिद्धार्थनगर नगरपालिका–१ का ३१ वर्षीय विकास गुरुङ र सोही स्थानका २३ वर्षीय सोनु मधेसिया रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

कार्यालयले डीएल वान सीएए ५५७८ भारतीय नम्बर प्लेट क्रेटा कार लामो समय देखि शंकास्पद रुपमा सीमानाकाबाट आवजावत गरेको पाएपछि कार चालक कलवार र कार नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको थियो ।
पक्राउ परेका चालक कलवारले कारको अस्थायी पैठारीको रुपमा भन्सार कार्यालयको यात्रु शाखाको गत असोज २ गते देखि ३ गते (दुई दिन) सम्मका लागि भन्सार गरिएको प्रज्ञापन नम्बर एम ११०८१२ उल्लेखित कागजात देखाएका थिए। जसमा कार्यालयले किर्ते छाप देखि लिएर कर्मचारीको दस्तखतसम्म थियो ।
‘चालकले प्रज्ञापन पत्र देखाएपछि प्राप्त सूचना अनुसार हामीलाई शंका लाग्यो र हामीले उक्त नम्बर आंशिकुडा प्रणालीमा भिडान गर्दा गलत भेटियो’ भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले क्लिक लुम्बिनीसँग भने, ‘त्यो प्रज्ञापन पत्रबाट यूपी ५६ टी ६२९७ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकको अस्थाई पैठारी भएको देखिएपछि प्रज्ञापन पत्र नै किर्ते गरिएको भन्ने खुल्यो ।’
पक्राउ परेका चालक कलवारले आफुले ललन ठाकुर हुदै विकास गुरुङमार्फत भन्सार गराएको प्रारम्भिक बयान दिएपछि ठाकुर र गुरुङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा गुरुङले आफुले सोनु मधेसियासँग मिलेर किर्ते प्रज्ञापन पत्र बनाएको स्विकार गरेको सूचना अधिकारी चौधरीले बताए ।
उनका अनुसार नियन्त्रणमा लिइएको उक्त कार अमरदीप कौर नामक भारतीय नागरिकको नाममा रहेको र कलवारले किर्ते प्रज्ञापन पत्रको आधारमा चलाउँदै आएका थिए।
पक्राउ परेका व्यक्तिहरुले उक्त प्रज्ञापन पत्र भारतीय सीमावर्ती बजार नौतनवाको बनेलिया माई मन्दिर अगाडी रहेको साईबर क्याफेबाट बनाएको र पत्रमा कर्मचारीको दस्तखत समेत आफुहरुले नै गरेको बयान दिएको र थप अनुसन्धान भइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

