


भैरहवा,१२ असोज । निरन्तर भइरहेको वर्षाले आएको बाढी, पहिरो र चट्याङका कारण देशभर ६२ जनाको मृत्यु र ४३ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार विपद्मा ३६ जना घाइते भएका छन् १ हजार ४ सय ५६ जनाको उद्दार गरिएको छ । त्यस्तै कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको बताइएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार अविरल वर्षा शनिवार साँझ देखि विस्तारै कम हुँदै जाने अनुमान गरिएको छ।
‘साँझदेखि वर्ष केही कम हुने भएपनि रोकिने भने होइन, भोलिसम्म वर्षा हुन सक्छ’, उनले भने, ‘तर, जुन हिसाबले वर्षा भइरहेको छ , त्यस्तो हुने सम्भावना देखिएको छैन ।’

उनले आइतबार (भोली) देखि केही क्षेत्रमा मौसममा सुधार आएपनि छिटफुट रुपमा वर्षा हुन सक्ने बताए। मुलुकको पश्चिम क्षेत्रदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको र अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिने उनको भनाई छ।

