
भैरहवा,१३असोज। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा योजना लागु गरेको छ ।
जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिनका लागि विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रंजितसिंह राठौरले बताए।
Advertisement

Advertisement
Advertisement

उनले सुरक्षा योजना अन्र्तगत ट्राफिक प्रहरीसहितको जिल्लाका ४३ स्थानमा पिकेट, १९ स्थानमा चेक प्वाइन्ट, १८ वटा पैदल गस्ती, १७ वटा मोबाइल गस्ती, साइकल गस्ती, आकस्मिक सुरक्षा चेकजाँच गरिने बताए । उनका अनुसार तत्काल सहयोगका लागि जिल्लामा ४९ वटा क्यूआरटी टोली (क्विक रेस्पोन्स टिम) परिचालन गरिएको छ ।
चाडपर्वको समयमा बढी पटका, आतिसबाजीको प्रयोग हुने भएकोले सोको नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने जनाईएको छ । पटकाको प्रयोग वा यसको विक्री वितरण गरेको पाईए कारवाही गरिने भन्दै उनले चाडपर्व लक्षित सुरक्षाको लागि एक सिफ्टमा ६ सय ९५ जना प्रहरी परिचालन गरिएको बताए ।
चाडपर्वमा जिल्लामा शान्ति सु–व्यवस्था कायम राख्नका हामी तयार र सजग छौँ’,एसपी राठौरले भने, ‘सर्वसाधरणले पनि लापरवाही गर्नुभएन र कुनै घटना हुन लागेको/भएको थाहा पाए हामीलाई जानकारी गराउनुका लागि अनुरोध गर्दछु ।’ बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुका लागि सुरक्षित यात्राको प्रत्याभुती दिलाउने पनि प्रहरीको योजना छ।
चाडपर्व नजिकिएसँगै चाडपर्वमा हुन सक्ने अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको छलफलमा सरोकारवाला निकायहरु आ-आफ्नो भूमिका निर्वाह गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आग्रह गरे ।
चाडपर्वमा चोरी, ठगी, लुटपाट, झै-झगडा साथै सवारी दुर्घटनाहरु पनि बढ्ने हुदा त्यसको न्यूनिकरणको लागि प्रशासनमा गरिएको निर्णय कार्यान्वयनमा सहयोग पुर्याउन उनले आग्रह गरे । चाडपर्वमा सवारी साधनको मनोमानी भाडादर, क्षमता भन्दा बढी सवारी, टिकटमा मनोमानी लगायतको गुनासोहरु आउने गरेकोले यसको नियन्त्रणको लागि सादा पोशाकका प्रहरी परिचालन गरिने प्रजिअ अर्यालले बताए ।
राजमार्ग लक्षित गरी रातीको समयमा गस्ती बढाइने, बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरुसँग समन्वय सहितको सुरक्षा व्यवस्था मिलाईने छलफलमा बताइएको छ।

