


भैरहवा,१४असोज। लुम्बिनी प्रदेशमा अविरल वर्षाले आएको बाढी, पहिरो र डुबानका कारण ३२ वटा घटना भएको र एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गत चार दिनको अवधिमा विपद्मा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएक छन् । रुपन्देहीमा दुई जना र बाँकेमा एक जनाको मृत्यु भएको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए।

उक्त अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । साथै सरकारी भवन र गोठहरुमा पनि क्षति भएको बताइएको छ।
लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको । चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्अघि, विपद्को वेलामा र विपद् पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन जारी गरेका थिए। सोही अनुसार समुदाय, प्रहरी,प्रशासन र स्वयंमसेवकहरु परिचालन भएका थिए ।

