


काठमाडौं,१५असोज। अविरल वर्षाले आएको बाढी,पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढ्दा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ। सोमबार मात्र उक्त विमानस्थलबाट साढे पाँच सय वटा उडान भएको छ।
विमानस्थल कार्यालयका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय गरी विमानस्थलबाट कुल ५५९ वटा उडान भएको छ । आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएको कार्यालयले जनाएको छ।

यसबाट १५ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान हो । सामान्यतया अघिल्लो वर्षहरूका दसैँका बेला यस्तो उडान चाप हुने गर्थ्यो। विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए।

