
भैरहवा,१७असोज। रुपन्देहीको ओमसतिया गाउँपालिकाले बजार अनुमगन गरेको छ।
अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, उद्योग व्यवसाय, संघ-संस्था तथा राजस्व शाखाकी प्रमुख अमृता पाण्डे, प्रशासन शाखा प्रमुख रुपा थापा राउत, कृषि शाखा केशव चौधरी ,स्वास्थ्य शाखा सस्मिता खत्री लगायतको टोलीले वडा नम्बर ३ र ४ मा बजार अनुगमन गरेको हो।
Advertisement

Advertisement
Advertisement

अनुगमनका क्रममा अधिकांश व्यवसाय पालिकामा दर्ता नभइ सञ्चालनमा रहेको र नविकरण नभएको पाइएको समितिले जनाएको छ । त्यस्ता व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई दर्ता र नविकरणका लागि निर्देशन दिइएको छ ।
गाउँपालिकामा सञ्चालित व्यवसायहरुले मापदण्ड पूरा गरे/नगरेको, दर्ता भए/नभएको, गुणस्तर, मूल्यसूची लगायतको विषयमा अनुगमन गरिएको जनाइएको छ ।
गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समितिको संयोजक चौधरीका अनुसार यसलाई अब निरन्तर रुपमा अगाडि बढाइने छ । ‘वडा नम्बर ४ देखि अनुगमनको सुरुवात गरेका छौं, यसलाई क्रमशः अन्य वडामा लैजाने छौं’, उनले भनिन्, ‘गाउँपालिकामा दर्ता र नविकरण नभएका धेरै व्यवसाय भेटियो, दर्ता र नविकरण गर्ने निर्देशनसहित छाडेका छौं ।’
उनले गाउँपालिका अन्तर्गतका सबै उद्योग, व्यवसायिक संस्था लगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुन आग्रह गरिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले पालिकामा सबै व्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताए । क्षेत्रीले पनि समयमै गाउँपालिकामा व्यवसाय दर्ता गरी सहयोग गर्न आग्रह गरे ।

