


भैरहवा,२४असोज। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउनका लागि उद्योगहरुलाई अनुरोध गरेको छ ।
बिहिवार प्राधिकरणले ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन अनुरोध गरेको हो। तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने विद्युत् प्राधिकरणले जनाएको छ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६१-०१-२७ को निर्णय तथा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१-०४-०७ को ९७९ औं बैठकको निर्णयानुसार डेडिकेटेड फिडर तथा ट्रक लाइन मार्फत विद्युत उपभोग गरे बापत तिर्नुपर्ने २०७२ माघदेखि २०७५ वैशाख सम्मको बक्यौता विद्युत महसुल बुझाउनका लागि वितरण केन्द्रहरूबाट विभिन्न मितिमा पत्राचार भएकै छ’ सूचनामा भनिएको छ, ‘सो सम्बन्धमा तपसिलका उपभोक्ताहरूले उल्लिखित अवधिको वक्यौता विद्युत महसुल मिति २०८१ साल कात्तिक ८ गतेभित्र बुझाउनुहुन जानकारी गराइन्छ । तोकिएको समयमा महसुल प्राप्त नभएमा कानून बमोजिम असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’
ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरिएको हो। आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
हेर्नुहोस् प्राधिकरणले जारी गरेको सूचनाः


