


हृदयराम गुप्ता
मर्चवार, २६ असोज। रुपन्देहीको मर्चवार क्षेत्रमा दुर्गा मूर्ति बिसर्जन हुने स्थललाई व्यवस्थित र सुरक्षित बनाइएको छ । कोटहीमाई गाउँपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा मर्चवारको अधिकांश स्थानका मुर्ति बिसर्जन हुने कोटहीमाई-५ दुईमोहानलाई सुरक्षित तरिकाले व्यवस्थापन गरी तयारी पुरा गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।

मूर्ति बिसर्जन र विभिन्न किसिमको धार्मिक कार्यको लागि जल भर्ने क्रममा यसअघि नदीमा डुबेर मृत्युसँगै हुने विभिन्न घटनाहरुलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापन मजबुत बनाइएको गाउँपालिका विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका अध्यक्ष त्रिपाठीले बताए ।

उनले भने ,‘मुर्ति बिसजर्नमा आएका श्रद्धालुहरु कहाँसम्म जान पाउने, कुन क्षेत्रमा प्रवेश गर्न सक्ने, कुन ठाउँमा मुर्ति बिसर्जन गर्ने लगायतका विभिन्न जानकारीसहित घेराबन्दी गरिएको छ । कम पानी रहेको ठाउँमा स्वयंसेवक, प्रहरीको सहयोगमा कम जनशक्तिबाट मूर्ति बिसर्जनका लागि व्यवस्थापन गरिएको छ ।’
मूर्ति बिसर्जन गर्न मूर्ति लिएर पानीमा प्रवेश गर्नेलाई अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनुपर्ने व्यवस्था मिलाइएको छ।
रुपन्देहीको तिनाउ र दानव नदीको संगमस्थल कोटहीमाई-५ दुईमोहानमा मर्चवारको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका १ सय भन्दा बढी मूर्ति बिसर्जन हुने अनुमान गरिएको ईलाका प्रहरी मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यलाले जानकारी दिए।

मुर्ति बिसर्जन गर्न जाँदा चर्को बाजा नबजाइ मर्यादित र सभ्य तरिकाले जान तथा मदिरा तथा नशालु पदार्थको सेवन गरी मुर्ती बिसर्जन गर्न नजान प्रहरी ले आग्रह गरेको छ।

