
बुटवल,२९असोज। रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.को पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले अवलोकन गरेका छन्। हालै भवन निर्माण सम्पन्न भएर उपचार सेवा सुरु भएको अस्पतालको मंगलबार पूर्वमन्त्री खाँणसहितका नेताहरुले अवलोकन गर्दै अस्पतालले दुखी,गरिब आसहाय विरामीहरुको उपचारमा पनि मद्दत गर्ने विश्वास व्यक्त गरे।
अवलोकनका लागि पुगेका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिएका थिए। बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि. पहिलो अस्पताल हो।
Advertisement

Advertisement
Advertisement

अस्पतालको अवलोकन प्रश्चात पुर्वमन्त्री खांणले भने- ‘अस्पताल नमुना बनेछ तर बुटवल धेरै हिसाबले अब्बल रहेपनि स्वास्थ्य क्षेत्रमा कता-कता पछाडी हो कि भन्ने थियो। अब बुटवल हस्पिटलले त्यसको अन्त्य गरेको हुनुपर्दछ ।’

संविधानले परिकल्पना गरे अनुसार स्वास्थ्यको हक नागरिकहरुको मौलिक अधिकार भएपनि सबैको पहुँचमा सरकार पुग्न नसकेको भन्दै उनले नीजी क्षेत्रले सरकारले गर्न नसकेका कामहरु गरेर नागरिकको ज्यान बचाउने गरेको बताए। उनले बुटवल हस्पिटल यस क्षेत्रकै गहना भएकोले सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए।
उक्त अवसरमा अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले नीजि क्षेत्रबाट भएको प्रयासलाई तीन तहका सरकार र नागरिकहरुले सकारात्मक ढंगले सहयोग गरे आफुहरुको हौसला बढ्ने बताए। उनले बुटवलबाट उपचारकै लागि भारतीय शहरहरुमा गएर विरामीले धेरै दुःख-कष्ट पाउनुका साथै ठुलो धनराशी खर्च भैरहेको बेला आफ्नै स्थानमा वनेको अस्पतालको संरक्षणमा सबैको साथ पाउने अपेक्षा गरे।
उनले छिट्टै नर्सिंङसहितका कार्यक्रमहरु पनि अघि बढाउने बताउदै राज्यले तोकेको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रलाई अघि बढाउनु पर्ने बताए।
अस्पतालको अवलोकनका क्रममा गण्डकी प्रदेशका अर्थमन्त्री डा.टुक बहादुर गुरुङ, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, बुटवल वडा नं. ४ का वडा अध्यक्ष नरिष्वर शर्मा पौडेल, बुटवल वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापती ज्योती भण्डारी, बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ती अधिकारी, बुटवल हस्पिटल प्रा.लि.का सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा.कृष्ण खनाल लगायतले अस्पतालका विषयमा धारणा राखेका थिए ।

२४ वर्ष अघि स्थापना भएको यो अस्पतालमा विभिन्न विधाका ३५ जना कन्सल्टेण्ट डाक्टरहरु सहित २ सय ५० जना कर्मचारीहरु रहेका छन् ।

