
बुटवल,२९असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बदलिदो परिवेश अनुसार नेपाल प्रहरी संगठनलाई थप बलियो बनाउन रुपान्तरण गर्नुपर्ने बताएका छन्।
६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधियुक्त बनाउदै रुपान्तरणको आवश्कता रहेको औल्याए।
Advertisement

Advertisement
Advertisement

‘अपराधहरु बढेर गएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी संगठन बदलिदो परिवेश अनुसार आफुलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाको निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्ने छ’उनले भने,‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। बदलिदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनिकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।’
अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो भएको उनको भनाई छ।
‘लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सफल भएको छ । प्रदेशको शिर उचो बनाउन यहाँहरुले गरेको योगदानको उच्च करद गर्न चाहन्छु’उनले भने,‘अमर शहिदको योगदान र बलिदानको स्मरण गर्न चाहन्छु । अमर प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने छ ।’
कार्यक्रममा मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए। लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ती सुरक्षा कायम गर्न, विपद् व्यवस्थापन लगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको बताए।
अपराधको प्रकृति फेरिदा सूचना प्रविधिको विकासले प्रहरीमाथी चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधिसंग जोड्न जरुरी रहेको उनले बताए।
सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ। साथै, प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगीतामा विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो।

