
भैरहवा, १ कार्तिक । मारवाडी सेवा संघ भैरहवाले काठमाडौंको पशपुति गौशाला धर्मशालामा गैरकानूनी हस्तक्षेप भएकोले मुद्दा किनारा नलागेसम्म हस्तक्षेप रोक्न माग गरेको छ ।
संघले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै हस्तक्षेप रोक्न आवश्यक सहयोग गरिदिन आग्रह गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित श्री पशुपति गौशाला धर्मशालाको प्रांगणमा असोज २३ गते भएको घटनाले मारवाडी समाजको इतिहासमै अत्यन्तै भयभित एवं कहालीलाग्दो घटना भएको मारवाडी सेवा संघ भैरहवा, रुपन्देहीका उपाध्यक्ष अरुण कुमार अग्रवालले बताए ।
उनले भने, ‘यो घटनाले हाम्रो सम्पूर्ण समाज डर त्रासको भयले अत्यन्तै चिन्तित छ । घटनापश्चात हाम्रा समाजका व्यक्तिहरुलाई निजी धनसम्पत्ति समेतलाई जोखिम हुने गरी धम्कीपूर्ण भाषामा विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रेषित गर्ने कार्यहरु भइरहेकाले सम्पूर्ण मारवाडी समाजका सदस्यहरुको जीउधनको शान्ति सुरक्षाको माग गर्दछौं ।’
काठमाडौं महानगर प्रहरीले बल प्रयोग गरी पशुपति धर्मशाला कब्जा लिने क्रममा मारवाडी सेवा समाजका धेरैजसो मानिसहरुलाई चोटपटक लागेको अग्रवालले बताए ।
उनले भने, ‘कानूनी राज्यमा कुनै एउटा निकायबाट निर्णय भएको तर अन्य निकायहरुमा पुनरावेदन गर्न जाने अधिकार सुरक्षित रहेको अवस्थामा मुद्दाको अन्तिम किनारा नलाग्दै ८४ वर्षदेखि गौ सेवा लगायत धार्मिक, सामाजिक तथा मानवीय सेवामा समर्पित संस्थाउपर यस्तो निन्दनीय कार्य कानूनसम्मत नहोला । यस घटनाबाट हामी सम्पूर्ण मारवाडी समाजको मौलिक हकअधिकार हनन् भएको छ ।’

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपालसँग थप सहयोग उपलब्ध गराउने विषयमा ०६० जेठ १२ मा सम्झौता भएकोमा उक्त सम्झौता कोषले ०८० साउन १७ गते एकतर्फी निर्णय भंग गरेकोले सो निर्णय गैरकानूनी रहेको भनी समिति निर्णय बदर गरी पाउन काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको अग्रवालले बताए ।
उनका अनुसार अदालतको आदेशको पूर्ण पाठ आएपछि सो उपर उच्च अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहेको अवस्थामा कोषले अधिकारको दुरुपयोग गरी काठमाडौं महानगरपालिकासँग गौशाला धर्मशाला सञ्चालन सम्बन्धी सम्झौता गरी बिना कुनै लिखित जानकारी ०८१ असोज २३ गते एक्कासी महानगरपालिकाको प्रतिनिधिहरुको साथमा नगरप्रहरीहरु धर्मशालामा प्रवेश गरी बल प्रयोग गरेर गौशाला धर्मशालाको बोर्ड हटाई कब्जामा लिएको थियो।
श्री पशुपति गौशाला धर्मशाला र यसको समग्र परिसर निर्धारित उल्लेखित उद्देश्यअनुरुप सञ्चालनमा रहिआएको र यसबाट कुनै व्यक्ति, मारवाडी समुदाय वा समुदायबाट कुनै पनि प्रकारले आर्थिक लाभ लिने कार्य नभएको मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष श्रवण कुमार बेरीवालले बताए ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पठाउने बताए।शान्तिपूर्ण जुलुस निकालेर जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।
धर्मशाला खाली नगर्न पर्यटन मन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशाला खाली गराउने सम्बन्धी कार्य रोक्न निर्देशन दिएका छन् । गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने सम्बन्धी कार्य रोक्न निर्देशन दिएका छन् । साथै, कात्तिक ४ गते मन्त्रालयमा परिषद् बैठक डाकिएको छ ।
कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो । यसअघि धर्मशाला सञ्चालन गर्दै आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको छ ।

