


भैरहवा, २ कार्तिक । सरकारले शुक्रबार (आज) र शनिबार (भोलि) ५ वर्षका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेका छ।
रोहिणी गाउँपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीका अनुसार पालिकामा भिटामिन ए कार्यक्रममार्फत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम संचालनमा छ।

दुईदिने अभियानमा रोहिणी गाउँपालिकाका करिब ४ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चौधरीले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमका लागि रोहिणी गाउँपालिका अन्तर्गत ७ वटा वडामा ९८ जना महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् ।
‘प्रत्येक ६–६ महिनामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन्छ । यसअघि वैशाख ५ र ६ गते खुवाइएको थियो,’ उनले भने ।
भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रमको अनुगमन समेत गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरे ।
देशभर ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले वि.सं.०५० साल बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि वि.सं. ०५६ साल बाट खुवाउन थालिएको हो।

