


काठमाडौ, ४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएपछि पार्टीले विरोध प्रर्दशनका लागि प्रत्येक जिल्लाबाट एक सय जनाको दरले नेता कार्यकर्ताहरुलाई पोखरा पुग्न सर्कुलर जारी गरेको छ।
शनिबार मध्यरातमा पार्टीका नेता-कार्यकर्ताहरुलाई म्यासेज गरेर जति सक्दो कम्तीमा एक सय जनाको दरले पोखरा पुग्न भनिएको छ ।

पार्टीले आफ्ना नेता कार्यकर्तालाई मध्यरातमा पठाएको सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११ः३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’
केन्द्रीय सचिवालयको निर्देशनअनुसार प्रदेश कमिटीले पार्टी संरचनालाई म्यासेज गरेर पोखरा पुग्न निर्देशन जारी गरेको हो।
काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको सभापति लामिछानेलाई आइतबार (आज) अदालतमा उपस्थित गराईदैँछ। सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै पार्टीले काठमाडौं,पोखरा,भैरहवा लगायतका सहरहरुमा विरोध प्रर्दशन गरेको थियो।

