


भैरहवा, ६ कार्तिक। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन सम्बन्धी कसुर मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई बयानका लागि भैरहवा ल्याइएको छ।
कास्की प्रहरीको नियन्त्रणमा रहेका जोशीलाई बयानका लागि कास्कीबाट भैरहवा ल्याइएको हो। जोशीसगँ सोमबार नै केही समय बयान लिइएको थियो। र, आज मंगलबार पनि बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन्।

‘सम्भवतःमंगलबार उहाँ (जोशी) को बयान सकेर पोखरा नै पठाउन सकिने सम्भावना छ’, उनले भनिन् । जोशीको जिल्ला सरकारी वकिल कार्यालयमा बयान हुनेछ।
सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रतिनिधिसभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौँबाट पक्राउ परेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप छ । संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले पोखरास्थित कास्की प्रहरीको हिरासतमा छन् ।

