
काठमाडौं, ६ कार्तिक। आर्थिक लेनदेनमा मुछिएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएपछि त्यहाँ रहेको घुमुवाहरु पनि अनुसन्धानमा तानिएका छन्।
एसपी कार्कीलाई प्रहरी हेडक्वाटरमा तानेर एसपी राजन लिम्बुको मोरङमा काज सरुवा गरिएको थियो। तर, नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले लिम्बुको नामलाई लिएर असन्तुष्टि जनाएपछि उनको काज सरुवा रद्द गरेर मोरङमा एसपी नारायण प्रसाद चिमोरियालाई पठाइएको छ।
Advertisement

Advertisement
Advertisement

मोरङमा प्रहरी सेटिङमै तस्करी र जुवा गतिविधि भएको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, हवल्दार खगेन्द्र राउत रसहायक हवल्दार सरोज श्रेष्ठलाई प्रदेशमा तानेर छानबिन प्रक्रिया अघि बढाएको छ।
घुमुवा प्रहरीका रुपमा खटिँदै आएका चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रुपैयाँ लिएको आरोप छ ।
चारजनालाई प्रदेश प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए। उनका अनुसार ती सबैमाथि अनलाइन जुवाको सेटिङ गर्ने र त्यसबापत रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि संरक्षण गर्ने गरेको आरोप छ ।
त्यस्तै मोरङबाट तानिएका एसपी कार्कीले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोपमा पनि छानबिन सुरु गरिएको छ। कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङका अनुसार घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको छ।

