


भैरहवा, १३ कर्तिक। इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना नेपाली नागरिकलाई कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ । पक्राउ पर्नेमा भोजपुर साविक युँ गाविस-५ का गजेन्द्र वान्तवा राई रहेका छन्।
पक्राउ परेका वान्तवालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।

झापा मेचीनगर नगरपालिका-११ धाईजनका ४८ वर्षीया श्रीमती सर्मिला तामाङको हत्यामा संलग्न रही फरार भएका वान्तावालाई एनसिबी दोहाको समन्वयमा उनलाई पक्राउ गरिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका अनुसार पक्राउ परेका वान्तवालाई कारवाहीका लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट आएको प्रहरी टोलीलाई बुझाइएको छ।

