
भैरहवा,२३ कार्तिक ।रुपन्देहीमा भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएको चिनी बरामद भएपछि सशस्त्र प्रहरी र कर्मचारी माथी ढुंगामुढा भएको छ । ढुंगामुढाले सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन् ।
बिहीवार राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल राजस्व प्रहरी ईकाई बुटवलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझाना गाउँको ३२ वर्षीय दिलिप लोधको घरमा अवैध रुपमा भण्डारण गरिएको १ सय १२ बोरा चिनी बरामद गरेको थियो ।
Advertisement

Advertisement
Advertisement

चिनी बरामद गरेर फर्किने क्रममा करिब २०० जना स्थानीयहरुले बाटो अवरोध गरेर चिनी लुटपाट गर्नका लागि सशस्त्र प्रहरी र कर्मचारीमाथी ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वाटर रुपन्देहीले जनाएको छ ।
घटनाबारे सशस्त्रको नं. २७ गणमा जानकारी भएपछि गणपति एवं एसपी आनन्द थापा मगरको कमाण्डमा सशस्त्रको टोली घटनास्थल पुगेर भिडलाई हटाएर बरामद चिनीसहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय पठाएको थियो ।
ढुंगामुढाले सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीको झ्यालको सिसा फुटेर क्षति भएको छ । साथै, २७ नं. गणमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्ष काशीप्रसाद चौधरी र राजस्व प्रहरी ईकाई बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्र पाण्डेको हातमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

