


भैरहवा, २३ कार्तिक । थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एशियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंक–भैरहवा–बैंकक दोस्रो पटक सिधा उडान गरेको छ ।
एयर एशियाको यो नियमित उडान हो । यस अघि कार्तिक १८ गते सर्वसाधरण यात्रु बिहिन आएर गएको उक्त विमान शुक्रवार यात्रु सहित आएको र गएको छ ।

शुक्रवार दिउँसोमा १२ः३० बजेमा सात यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट ३२ जना यात्रु लिएर १ः१० बजे बैंकक प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले बताए । उनका अनुसार विमानमा आएका सात जना विदेशी र यहाँबाट जाने ३२ जना नेपाली नागरिक थिए ।
थाई एयर एशियाले भैरहवा विमानस्थलबाट सातामा दुई दिन सोमबार र बिहीवार दिउँसो १२ः१५ बजे विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि यहाँबाट जानेछ ।
संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेजले पनि शनिवार देखि भैरहवा विमानस्थलबाट नियमित उडान गर्दैछन् ।
जसमध्ये फ्लाई दुबईले विमानस्थलबाट दैनिक एक उडान र जजिराले सातामा तीन दिन मंगलबार, बिहीवार र शनिवार उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

