
दाङ, २८ कार्तिक । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकारबीच पर्यटन प्रबद्र्धनमा सहकार्य गरिने बताएका छन् ।
भगिनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशकाबीचमा सहयोग आदानप्रदानलाई तिब्रता दिइने उनले बताए । छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दुबाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिँदै चीनले पर्यटनको क्षेत्रमा हाँसिल गरेको उपलब्धि र सिकाइलाइ अनुसरण गरिने, पर्यटन प्रवद्र्धनमा सहकार्य हुने बताए ।
Advertisement

Advertisement
Advertisement

‘हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चिनियाँ अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छ’, उनले भने, ‘लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँको सिकाइ उपलब्धिमूलक बन्ने छ ।’
मुख्यमन्त्री आचार्यसहित सम्मेलित भ्रमण दलले छेन्दु अन्तर्राष्ट्रिय रेलवे बन्दरगाहाको समेत अवलोकन गरेको छ । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकी श्रीमती दीपा आचार्य लगायत भ्रमणमा सहभागी छन् ।

