


भैरहवा, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारीको रकम ठगीको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । बिहीवार बिहान १०:४० बजेदेखि लामिछानेको बयान सुरु भएको हो । लामिछानेसँग बयान लिन थालेको आज बिहीवार तेस्रो दिन हो ।
मंगलबार बयान दिएर साँझ कार्यालय बाहिर निस्किने क्रममा आफ्ना समर्थक र संचारकर्मीलाई ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएपश्चात थप सतर्कता अपनाउँदै प्रहरीघेरामा उनलाई वकिल कार्यालयमा प्रवेश गराउने र निकाल्न थालिएको छ ।

सभापति लामिछानेसगँ जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी अधिकारीहरुको उपस्थितीमा मंगलबार पाँच घण्टा र बुधवार करिब दश घण्टा गरी करिब १५ घण्टा बयान लिइएको छ भने बिहीवार बयान जारी रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
कसुरसगँ सम्बन्धित लामिछानेसगँ बिहीवारसम्म ५० भन्दा बढी प्रश्नहरु गरिएको छ । साथै, आजै बयान सकेर उनलाई पोखरा पठाउने सम्भावना छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ

