


भैरहवा, ४ मंसिर । भैरहवाका उद्योगी–व्यवसायीले यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्नेमा सबै लाग्नुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) लेभैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको स्वागत तथा परिचयात्मक कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि विगतमा संगठनले दबाबमूलक कार्यक्रम गरेको बताए । उनले भने, ‘पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्छ । लामो समयदेखि निर्माण सुरु भएको बेथरी पुल हालसम्म निर्माणसम्पन्न भएको छैन। यसले नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको छ।’
त्यस्तै संगठनको सल्लाहकार ज्ञानु पौड्यालले पर्यटन क्षेत्रको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।मिश्रवलिया–उदयपुर टोल विकास समितिकी अध्यक्ष कमला रायमाझीले सिद्धार्थनगर क्षेत्रको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताइन् । मदिरा व्यवसायी संघ भैरहवाका महासचिव यादव पोख्रेलले अवैध मदिरा नियन्त्रण गर्नुपर्ने बताए ।
रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्यले रुपन्देही पर्यटकीय हब भएकाले रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रशासनबाट सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘पर्यटकलाई सुविधा प्रदान गर्नुपर्छ ।’
गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डेले लागूऔषध दुव्र्यसनी जटिल समस्याको रुपमा रहेको र यसले समाजमा नकारात्मक असर पुगेको बताए ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका कार्यालय प्रमुख विष्णु कंडेलले भारतीय ओभरलोड गाडीले समस्या पारेको भन्दै यसप्रति विशेष ध्यान दिन आग्रह गरे । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले पर्यटकलाई सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।
होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्राले पर्यटन सम्बन्धी धेरै समस्या रहेकोले यसको समाधान आवश्यक रहेको बताए । उद्योग व्यापार संगठन रुपन्देहीका सल्लाहकार प्रकाश श्रेष्ठले खुल्ला सीमा नाकामा हुने अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने बताए । उनले भारतीय पर्यटकलाई सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।
संगठनका सल्लाहकार दीपक बहादुर कुँवरले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका भएको र पर्यटकको आवागमनलाई सहज बनाउनुपर्ने बताए । संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले खुल्ला सीमाका कारण चुनौती रहेको र स्वदेशी बजारलाई गुल्जार बनाउनुपर्ने बताए ।
संगठनका सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डेले मगन्तेको बिगबिगी भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।संगठनकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्री, नारायण प्रसाद भण्डारी लगायतले बोलेका थिए ।
सीडिओले भनेः समस्या समाधान खोज्छु
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतीय सीमासँग जोडिएको रुपन्देही जिल्लामा अवसर र चुनौती दुवै भएको बताए । उनले कार्यक्रममा उठेका विषय समाधानको बाटो खोज्ने बताए । उनले भने, ‘केही राम्रा कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। मेरो तुलना/प्रतिष्पर्धा कसैसँग हुँदैन। मेरो तुलना/प्रतिष्पर्धा म सँगै हुन्छ। तपाईहरुको साथ पाउने अपेक्षा राखेको छु ।’
आफूले विगतमा भएका नयाँ अभ्यासलाई निरन्तरता दिने र नयाँ कार्य सुरुवात गर्ने उनको भनाइ छ । रात्रिकालीन व्यवसाय सञ्चालनले सुरक्षा चुनौती नहुने र व्यवसाय पनि चल्ने गरी अघि बढ्नुपर्ने उनले बताए ।

